एक वर्षअघि सम्म चीनसँगको सीमावर्ती यहाँको ओलाङचुङगोलाका बासिन्दाले दैनिक उपभोग्य सामग्री तिब्बतबाट खरीद गर्थे।
ओलाङचुङगोलामा उत्पादित गलैँचा, घीउ, छुर्पीलगायत सामग्रीको बजार पनि तिब्बत नै भएकाले उतैबाट यहाँका बासिन्दाले खाद्यान्नसहितका सामान ल्याउने गरेका हुन्।
अर्कातर्फ ढुवानीका हिसाबले समेत सहज र सस्तो पर्ने हुँदा तिब्बतको रिउ बजारबाट नै खाद्यवस्तुलगायत घरायसी सामान खरीद हुने गरेको थियो।
यसरी तिब्बतका बजारबाट आउने मालसामान टिपताला भञ्ज्याङसम्म मालवाहक र त्यसपछि याक–चौँरीलाई बोकाएर बस्तीसम्म ल्याउने गरिन्थ्यो।
तिब्बतका व्यापारीले टिपतालासम्म सडक मार्गबाट पठाएको सामान त्यहाँबाट ओलाङचुङगोलासम्म याक, चौँरीलाई बोकाएर ढुवानी गर्दा प्रतिकिलो रु २५ देखि ३० सम्म पर्न जान्थ्यो।
यसरी तिब्बतका बजारसँग दोहोरो कारोबार हुँदा भौगोलिक हिसाबले नेपाली बजारभन्दा टाढा रहेका ओलाङचुङवासीलाई सहज थियो।
पछिल्लो एक वर्षदेखि कोरोना सङ्क्रमणका कारण पूर्णरुपमा टिपताला नाका बन्द हुँदा यहाँका बासिन्दालाई सास्ती भएको छ। कोरोना सङ्क्रमण फैलिने भन्दै एक वर्षअघिदेखि नै चीनले पूर्णरुपमा उक्त नाका बन्द गरेपछि तिब्बततर्फ आयात निर्यात पूरै ठप्प छ।
नाका बन्द गरिँदा सङ्क्रमणको जोखिम न्यूनीकरण भए पनि आयातनिर्यात ठप्प हुँदा त्यहाँका बासिन्दालाई सास्ती भएको हो। यहाँ उत्पादित गलैँचालगायत सामान चीनतर्फ निर्यात नहुँदा अहिले घरैमा थन्किएका छन्।
गलैँचा मात्रै नभई घीउ, छुर्पी, जडीबुटीसमेत निर्यात नभएकाले यस क्षेत्रका बासिन्दाको आम्दानी घटेको छ। विशेषगरी यहाँ उत्पादित गलैँचा र जडीबुटीको मुख्य बजार भनेकै तिब्बत हो।
अर्कातर्फ दैनिक उपभोग्य सामान सदरमुकामबाट लैजानु पर्दा खरीद मूल्यभन्दा बढी ढुवानी खर्च लाग्छ।
सदरमुकाम फुङलिङमा खरीद गरिएको सामान मालवाहक तथा सवारी साधनमा लेलेपसम्म र त्यहाँदेखि माथि भरिया वा खच्चडलाई बोकाएर ढुवानी गर्नुपर्छ। यसरी ढुवानी गर्दा प्रतिकिलो रु ६० देखि ८० सम्म पर्ने गरेको त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले बताए।
खच्चडलाई बोकाए केही सस्तो र मान्छेलाई बोकाए महँगो पर्ने गरेको छ। “नुन, तेल, चिनीलगायत कतिपय सामानको खरीद मूल्यभन्दा बढी ढुवानी मूल्य पर्छ, विगत एक वर्षदेखि यहाँका बासिन्दालाई ठूलो खर्चमा खाद्यान्नसहितका सामग्री ल्याउनुपर्ने बाध्यता छ”, उनले भने।
अझ बर्खाको समयमा भने ओहोरदोहोर गर्न कठिन छ। बर्खे झरीले कतै पहिरो चल्ने त कतै खोलाखोल्सा बढेर ओहोरदोहोरमा कठिनाइ हुने गरेको हो। त्यसैले मध्य बर्खाअघि नै चाहिने सामान ढुवानी गरिसक्नुपर्ने स्थानीयवासीले बताएका छन्।
लेलेपबाट ओलाङचुङगोला पुग्न कम्तीमा एक दिन वा त्योभन्दा बढी समय पनि लाग्नेगर्छ। अर्कातर्फ ओलाङगोलामा उत्पादन भएका सामान नेपाली बजारमा पु¥याउनसमेत ढुवानी खर्च बढी लाग्ने हुँदा कठिन छ। प्रायः यहाँका उत्पादनले तिब्बतको बजार पाउँछन्।
ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ। उनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै गलैँचा हो। त्यसपछि जडीबुटी, घीउ, छुर्पी पर्छन्।
चीनतर्फ निर्यात नभएकाले आम्दानी नहुँदा थप समस्या भएको स्थानीयवासीको भनाइ छ। कहिलेकाहीँँ वडाबाट हुने कतिपय भौतिक पूर्वाधार निर्माणका कामले सामान्य सहयोग पुग्ने गरेको तर अन्य आम्दानीका गतिविधि पनि सङ्क्रमणकै कारण ठप्प भएको स्थानीयवासीले बताएका छन्।सन्तोष पुर्कुटी/रासस