अक्सिजन अभावका कारण काेराेना संक्रमित भर्ना लिन नसक्ने अवस्थामा कर्णाली प्रदेश अस्पताल 

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेश अस्पतालले अस्पतालले अक्सिजन आपूर्ति बढाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अक्सिजन अभावका कारण बेड भएपनि कोरोनाका नयाँ बिरामी भर्ना लिन गाह्रो भएको अस्पतालले जनाएको छ।

कर्णाली प्रदेश अस्पतालमा हाल दैनिक करिब १ सय ५० देखि २ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएपनि नेपालगन्जबाट दैनिक सरदर ६० सिलिन्डर मात्र आउने गरेकाे अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए।

'अक्सिजनको आपूर्ति बढाउन नसकिएकोले नयाँ बिरामी भर्ना लिन पनि कठिन भयाे,' उनले भने, 'अक्सिजन अभावकै कारण बिरामीको मृत्युदर पनि बढिरहेको छ।'

अस्पतालमा हाल ९० जना संक्रमित भर्ना भएका छन् । करिब ५५ बेडमा अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति हुँदै आएको छ। तर विद्युत् आपूर्ति अनियमित हुने हुँदा त्यसको असर अक्सिजन उत्पादनमा परेको छ।

सुर्खेतमा दैनिक १०–१५ पटक विद्युत् जाने–आउने हुन्छ। 'बत्ती गएपछि जेनेरेटर चलाउँदासम्म दुई–तीन मिनेटमै ट्यांकी पूरै खाली हुन्छ,' डा. खड्काले थपे, 'ट्यांकी भरिएर अक्सिजन आपूर्ति हुँदासम्म नियमित अक्सिजन चाहिने बिरामीलाई निकै गाह्रो भइसकेको हुन्छ।'

अक्सिजन आपूर्ति सहज भएमा अस्पतालमा करिब २ सय जना बिरामीलाई राख्न सकिने अवस्था भएपनि अहिलेकै अवस्थामा नयाँ बिरामी थप्न कठिन भएको उनले बताए।

अस्पतालमा जडान भएको प्लान्टले प्रतिमिनेट ४ सय २० लिटर अक्सिजन उत्पादन गर्न सक्छ। यसबाट ३० बिरामीलाई अक्सिजन दिन सकिन्छ। तर बिरामीका कुरुवाले अक्सिजनको भोल्युम आफैं थपघट गर्ने हुँदा आवश्यकताभन्दा बढी खपत हुने गरेको छ। त्यही कारण बुधबारदेखि वार्डमा स्वास्थ्यकर्मी राख्न थालिएको डा. खड्काले बताए।

प्रदेश सरकारले यही साता करारमा स्वास्थ्यकर्मी भर्ना गरेका कारण तत्कालका लागि जनशक्ति अभाव टरेको छ।

प्रदेश अस्पतालमा अक्सिजनका कारण थप बिरामी भर्ना लिन समस्या भइरहँदा पनि सामान्य अवस्थाका संक्रमित आउने क्रम पनि रोकिएको छैन।

अस्पतालका अनुसार दैनिक ५–७ बिरामीलाई परामर्श र औषधि दिएर फर्काउने गरिएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय स्वास्थ्य चौकीहरूलाई कोरोना संक्रमित बिरामीको उपचार र परामर्शमा सक्रिय हुन निर्देशन गरेको छ।

'अक्सिजन अभावका कारण अस्पतालको क्षमता साँघुरिँदै गएको छ। त्यसैले सामान्य अवस्थाका संक्रमितलाई स्थानीयस्तरमै उपचार र परामर्श गर्ने व्यवस्था गरिनुपर्छ,' प्रमुख जिल्ला अधिकारी छविराज रिजालले भने। 

उनका अनुसार त्यसो गर्न सकियो भने संक्रमितलाई मनोवैज्ञानिक रूपमा समेत बलियो बनाएर अवस्था बिग्रिनबाट बचाउन सकिन्छ।

यसैबीच, पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ। हालसम्म १ सय २९ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाे तथ्यांक छ।

प्रकाशित मिति: : 2021-05-15 15:07:00

प्रतिकृया दिनुहोस्