नौ महिनामा सात खर्ब २९ अर्ब विप्रेषण

फाइल तस्वीर
फाइल तस्वीर

चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ।

कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा रोजगारीमा नकारात्मक प्रभाव परेको भएपनि विप्रेषण आप्रवह भने राम्रो रहेको पाइएको हो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ।

केन्द्रीय बैंकको विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई छ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६६.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १०.२ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १५.० प्रतिशतले घटेको थियो।

बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८१४ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो। रासस

प्रकाशित मिति: : 2021-05-12 20:22:00

प्रतिकृया दिनुहोस्