मोरङका दुई अस्पतालमा चार संक्रमितको मृत्यु

मोरङका दुईवटा अलगअलग अस्पतालमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। विराटनगरको नोबेल शिक्षण अस्पताल र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई वृद्ध पुरुष र दुई महिलाको मृत्यु भएको हो। उपचारका लागि भर्ना भएकामध्ये नोबेलमा तीन र विराटमा एक जनाले ज्यान गुमाएका हुन्।

नोबेलमा सुनसरीको धरान–१७ का ६६ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै संक्रमित पुरुषको बिहान २ः३० बजेतिर मृत्यु भएको हो। त्यस्तै विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । नोबेलका प्रबन्धक दाहालका अनुसार बिहान ३ः३० बजेतिर वृद्ध पुरुषको मृत्यु भयो।

सिरहाको कल्यापुर –४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो । उनको मृत्यु बिहान ७ बजेतिर भएको दाहालले बताए। यसैबीच विराटमा उपचाररत सुनसरीको इटहरी–८ की ५४ वर्षीया महिलाको पनि बिहान १ः२० बजेतिर मृत्यु भएको छ।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो। मृतकमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पाइएको उनले बताए।

प्रकाशित मिति: : 2021-05-09 12:46:00

प्रतिकृया दिनुहोस्