पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले कोरोनाको दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न सबैले आ-आफ्नो पक्षबाट पहल गर्नुपर्ने बताएका छन्।
बुधबार रोल्पाको सदरमुकाम लिवाङमा नगर आइसोलेसन सेन्टरको उद्घाटन गर्दै महराले कोभिड-१९ को नयाँ भाइरस (भेरियन्ट)लाई हेलचेक्राई नगर्न सबैलाई आग्रह गरे।
'तपाईकाे स्वास्थ्य र जीवन तपाईकै हातमा हुन्छ। त्यसले सतर्क रहनुहाेला।', उनले सचेत गराए।
रोल्पा नगरपालिकाले सर्वसाधारणको लागि ५० शैयाको बेड र नेपाल पत्रकार महासंघको आग्रहमा पत्रकारहरुका लागि ५ शैयाको बेड गरी ५५ शैयाको बेड स्थापना गरेको हो।
उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन 'सिजल'ले विपतको बेला जनताको सेवा गर्नु नै ठूलो कुरा रहेको भन्दै जनप्रतिनिधिहरुलाई सक्रिय बनेर महामारीको रोकथाममा खटिन आग्रह गरे।
त्यस्तै नगर आइसोलेसन सेन्टरमा कुनै पनि कुराको अभाव हुन नदिने नगर प्रमुख पुर्ण केसीले बताए। आइसोलेशन सञ्चालनको लागि सम्पुर्ण तयारी पुरा भएको र सेन्टरमा चाँडै ईन्टरनेट र सिसि क्यामेरासमेत जडान गरिने केसीले जानकारी दिए।
हाल सेन्टरमा पाँच वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ। बाँकि सिलिन्डरको आपुर्तिका लागि प्रकृया थालेको नगरपालिकाले जनाएको छ।
आइसोलेसन सेन्टर सदरमुकामस्थित सहिद स्मृति प्रतिष्ठानको भवनमा राखिएको हाे। जिल्लामा कोरोना नियन्त्रणको लागि नगरपालिकाले थालेको यो प्रयासलाई सरोकारवालाहरुले पनि खुलेरै प्रशंसा गरेका छन्।