गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ।
मंगलबार आएको पीसीआर रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि भएको हो। पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरेका थिए। उनको सिटी भ्यालु १७, १८, १८ रहेको छ।
उनलाई कोरोना पुष्टि भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा तानिएका छन्। प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी थिए।
उक्त बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य सहभागी थिए।
मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।