इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

Victor Mochere
Victor Mochere

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल भएका छन्। 

नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा तोकिए पनि त्यस अवधिमा उनले गठबन्धन निर्माण गर्न सकेनन्। 

प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसकेसँगै १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्ने स्थिति सिर्जना भएको छ। 

गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहेका छन्। दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन। 

प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपति रुभेन रिभलिनले चार हप्ताको समयावधि तोकेका थिए। प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन। 

राष्ट्रपति रिभलिनले प्रधानमन्त्री नेतन्याहूलाई दिएको समयसीमा मङ्गलबार मध्यराति समाप्त भएको हो। प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नु पर्नेछ। 

बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहूको प्रधानमन्त्री पद गइहाल्ने छैन। राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्नु हुनेछ। अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नेछन् र कुनै गठबन्धनमा सहमति नजुटे उहाँले संसदलाई नै निर्णय गर्न पठाउने छन्। 

राष्ट्रपति रिभलिनले बुधबार संसदमा विपक्षीको रुपमा देखिएका १३ दलका नेतालाई सम्भावित गठबन्धनका बारेमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । यी दलका नेतामध्ये कसैले सहमति जुटाउन सके उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने छन्। 

राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ। यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ। 

गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहूको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो। लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ। 

राष्ट्रपति रिभलिनले गत महिना प्रधानमन्त्री नेतन्याहूले संसदमा ५२ जना सांसदको सहमति सहितको हस्ताक्षर प्रस्तुत गरेपछि प्रधानमन्त्रीमा पहिलो अवसर दिएका थिए। तर ४५ सांसदको समर्थन प्राप्त गरेका याईर लापिडलाई अब राष्ट्रपतिले दोस्रो मौका दिने सम्भावना बढेको छ। एपी

प्रकाशित मिति: : 2021-05-05 13:29:00

प्रतिकृया दिनुहोस्