अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम भएकी छन्।
गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय र पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन्। विजेता बलले एक हजार डलर, द्वितीय गिरीले पाँच सय डलर र तृतीय खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेकीछन्।
प्रतियोगितामा अङ्ग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छन्।
अनेसासका अध्यक्ष प्रकाश माइलाका कार्यक्रममा अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुसरण एवं प्रवद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताए।
मूल्याङ्कन समितिका तर्फबाट प्रज्ञा –प्रतिष्ठान, काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगीमध्येबाट पुरस्कृत नामको घोषणा गरेका थिए।
साहित्यकार अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी, डा विन्दु शर्मा र केशव सिग्देल (नेपाल), रवीन शर्मा र प्रवीणा बराल (जापान), गोवद्र्धन पूजा र हिमांशुनिभा कुँवर (अमेरिका), तीर्थसङ्गम राई (कतार), गणेश खड्का (अफ्रिका) र इसिका अधिकारी (युरोप)ले पनि आआफ्ना कविता वाचन गरेका थिए।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला संयोजकत्वको मूल्याङ्कलन समितिका छनोटमा परेका अन्तिम चरणका अंशु सुवाल, आगत खरेल, गङ्गा फुयाँल, सौगात पराजुली, समृद्धि नेपाललगायतले नेपाली र मारिया अधिकारी, प्रेमा पौड्याललगायतले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए। रासस