नेपालगन्ज जाँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोली 

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली स्वास्थ्य विज्ञान जुम्लाबाट चिकित्सक टोली उपचार गर्न भेरी अस्पताल जाने भएकाे छ।

नेपालगञ्जकाे भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि प्रतिष्ठानबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आइतबार नेपालगञ्ज जाने भएको हो।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए। उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टिम भेरी अस्पतालमा खटाइन लागिएको हो।

प्रतिष्ठानका निमित्त निर्देशक डा. राजिव शाहले सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराएपछि प्रतिष्ठानबाट चिकित्सक टोली खटाउन लागेको बताए।

सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लागेका हुन्। उनीहरुले करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ।

'नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि कर्णाली प्रतिष्ठानमा टोली बनाएको छ। उक्त टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेछ,' डा. गिरीले भने, 'यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ। भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेकोले टिमले त्यसमा सहयोग र सहजीकरण गर्न लागेकाे हाे।'

भेरी अस्पतालमा कोरोना उपचार गर्न सकस भएको खबर बाहिर आउने गरेका छन्। अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित छन्। जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी सङ्क्रमित भएर पनि उपचारमा खटिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-02 12:21:00

प्रतिकृया दिनुहोस्