'यहाँ देशको छ चिन्ता.. तिमी माया माया भन्छौ..! साच्चै नबुझ्ने हौ कि.. नबुझ्ने जस्तै बन्छौ..!'
डा कृष्णहरि बारालका शब्द माथि दीपक लिम्बूले गाएको यो गीत मेरो मोबाइलको 'रिङ्गटोन' बनेर बजिरहेको छ। फोन उठाएँ। प्रदीप भाइले फोन गरेको रहेछ।
उसले भन्यो– चाडो आउनुस्।
हतार-हतार कपडा लगाएर बबरमहलबाट अपील र म नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान जमलतिर जाँदै छौँ। घाम लागेको छ। काठमाडौंका सडकछेउमा नीला र सेता शिरिषका फूलहरु फुलेका देखिन्छन। सबै खुशी छन् जस्तो लाग्छ। नेपाल सरकार चलचित्र विकास बोर्डले आज, राष्ट्रिय चलचित्र पुरस्कार (नेशनल फिल्म अवार्ड्) बाट पुरस्कृत गर्ने कार्यक्रम छ।
हाम्रो 'टिम' सबै र नेपाली चलचित्र उद्योगका सम्पूर्ण कलाकर्मीहरु पहिले नै पुगिसकेका रहेछन्। कार्यक्रम हेर्दा भब्य देखिन्छ। 'नेशनल फिल्म अवार्ड' बाट पुरुस्कृत गर्ने कार्यक्रम सुरु भयो। फिल्म उद्योगका विभिन्न सम्मानित नामहरु बोलाईन सुरु भए। हाम्रो पालो पनि आयो। दासढुङा फिल्म भनियो।
सबैभन्दा पहिले अपील विष्ट मञ्चमा गयो। त्यसपछि मनोज पण्डित, म, मेनुका श्रेष्ठ दिदी हुँदै क्रमश: अनुप बराल, निमेश श्रेष्ठ र दयाहाङ राई। 'नेशनल फिल्म अवार्ड' समाउन पाउनुको आनन्द नै छुट्टै ! कसरी वर्णन गरौँ। कार्यक्रमको हल, तालीले गडगडान छ। चेहराहरु हँसिला बनेका छन्। 'फोटो सेसन' पछि कार्यक्रम सकिन्छ। बाहिर निस्कन्छौँ। गमलाहरु देखिन्छन्।
गमलाभरि रङ्गीचङ्गी फूलहरु फुलेका छन। फूलहरु त्यसरी नै फुलेका छन् , जसरी हामी मुस्कुराइरहेका छौँ। 'नेशनल अवार्ड' हातभरि छन्। गर्व र हौसलाले छाती फुलेको जस्तो भएको छ। अझ भनौँ, ठूलो जिम्मेवारीले थिचिएजस्तो भएको छ।
आनन्द र खुशीका सीमाहरु अलि टाढासम्म फैलिएका छन्। अहिलेको यो अवस्थासम्म आइपुग्न धेरै व्यक्तिहरुको मेहनत, त्याग र तपस्या भएको छ। यो प्राप्तिले, ती 'सघर्ष' लाई त सम्झाएको छ तर शारीरिक र मानसिक दु:खहरुलाई भुल्याएको छ।
यो अनुभूति आजभन्दा ११ वर्षअघिको हो। दासढुङा फिल्म बनाउँदा खुशी र सङ्घर्षका कथाहरु धेरै छन्। काम गर्ने क्रममा सबैका खुशी र सघर्षका कथाहरु हुन्छन्। हाम्रो पनि छन्।
मोबाइलमा बजिरहेको 'रिङ्गटोन'को गीत जस्तै 'देशको चिन्ता बोकेर' हिँडेकाहरुको झन् धेरै खुशी र संघर्षका कथाहरु हुँदा रहेछन्। व्यक्तिगत मायाभन्दा देश र सिर्जनाप्रतिको माया प्रगाढ हुने रहेछ। व्यक्तिगत मायाको महत्व कम कहाँ हुन्छ र ! माया त माया हो। दुईबीच तुलना त हुन सक्दैन। तर पनि !
यो दासढुङ्गा फिल्मको लागि 'अनुसन्धान' सुरु गर्दा मैले मदन भण्डारीलाई खूबै खोजेँ। पहिले पनि भनेको थिएँ। पटक-पटक भन्छु। दासढुङ्गा विषयले मदन-आश्रितको मृत्युको घटना मात्र खोजी गर्दैनथ्यो। राजनीतिक जीवनदेखि वैयक्तिक जीवन र सम्बन्धहरुको खोजीको माग गर्दथ्यो।
मैले राजनीतिक जीवनबाट खोज्न र पढ्न सुरु गरेर वैयत्तिक जीवनसम्मका सम्पूर्ण कुराहरु भेट्टाएँ। जीवनका लागि सिद्धान्त होस् वा सिद्धान्तका लागि प्रेम होस्। सबै जान्ने मौका पाएको थिएँ।
म चाबहिलमा नेतृ विद्या भण्डारीको डेरामा छु। सोफामा बसेर फोटो हेरिरहेको छु। 'थाइकट' कपाल, निधारमा रातो टीका, सुकुमोल प्रेमले भरीएका आखा, शौम्य नारी विद्या भण्डारी अनि चिन्तनशील भए पनि प्रेमिल वातवरण बनाउन सक्ने, दाह्रीजुँगा पालेका, टोपी र चस्मा लगाएका हँसिला र रसिला मदन भण्डारीको प्रेम कथाका बारेमा एमाले पार्टीका शीर्ष नेतृत्वमा रहेका, फरक-फरक पात्रबाट रोचक र सम्मानित तरिकाले सुनाएको कुराहरु दृष्य बनेर स्मॄतिमा घुमिरहेका थिए।
त्यही प्रेमका रोचक कथाहरुसँग मिल्ने फोटाहरु पनि भेट्टाएँ। यी सबै बटुलेर १४ वर्षअगाडि म चाबहिलको डेरामा तत्कालीन एमाले नेतृ र हालकी महामहिम राष्ट्रपति विद्या भण्डारीलाई भेट्न गएको थिएँ। धेरै कुराहरु भए, लगभाग तीन घण्टा। पहिले पनि भनेको थिएँ। 'अडियो-रेकर्डर' बन्द गरेर पनि केही समय कुरा गर्यौँ।
दासढुङा घटनाबाट सुरु भएर उहाँको र मदन भण्डारीसँग पहिलोपटक भेट भएको, ठूलीछोरी उषाकिरण र सानी छोरी निषाकुसुमको जन्मसम्मको प्रसँगहरु सुनाउनुभयो। मेरा जिज्ञासाहरु धेरै थिए। एउटा खोजकर्ताका जिज्ञासाहरु हुने नै भए।
दासढुङ्गा घटना घटेपछि भन्नेले के मात्र भनेन र ! के-के भने भने। भन्ने पनि भने, नभन्ने पनि भने। मेरा जिज्ञासाहरु त्यही वातावरणबाट सिर्जित थिए। त्यसैले लामो कुराकानी भएको थियो। उहाँप्रति मेरो सम्मान सधैँ थियो।
त्यो हाम्रो कुराकानीमा उहाँले मप्रति देखाउनुभएको 'शिष्टताले' अति धेरै प्रभावित भएको थिएँ। उहाँका केही उत्तरहरु अपेक्षाकृत थिएनन्। केही भने सोचेभन्दा बढी थिए। उत्तरहरुजस्ता भए पनि समग्र भेटमा चाहिँ 'हार्दिकता' थियो।
चाबहिलको उहाँको डेराबाट निस्केर म बबरमहलको लागि बढिरहेको थिए। मोटरसाइकल कुदिरहेको थियो। मोटरसाइकल कुदिरहेको जस्तै गतिमा मेरो दिमागमा विचारहरु पनि कुदिरहेका थिए। अनगिन्ती विचारहरु। दासढुङ्गा नसुल्झिएको जटिल विषय थियो।
अझ भनौँ, पछिल्लो चरणमा सुल्झाउन नखोजिएको विषय थियो। दासढुङ्गा विषयमा फिल्म बन्नका लागि अनुमान गरिएको भन्दा धेरै समय लागेको थियो। यसबीचमा आफ्ना व्यक्तिगत जीवनका 'यादगार' उतारचढावहरु भैसकेका थिए। 'सोसल साइन्स बहा:' को 'सोफिष्टिकेटेड' जीवन छोडेर दासढुङ्गाका लागि गल्ली, चोक र पुस्तकालयमा कहिले मोटरसाइकल र कहिले चप्पल पड्काउदै धाइरहेको थिएँ।
नेपालगञ्जमा पत्रकारिता गर्दा पत्रिकामा आफ्नो 'नाम' सहित समाचार छापिँदादेखि 'नामको' आकर्षण जागेको रहेछ क्यारे ! त्यही आफ्नो 'नाम' लाई स्थापित गर्ने रहर थियो। जागिर छोडिएको थियो। जागिर खाँदा कमाएको सबैजसो धनरासी फिल्मका लागि भनेर अपीललाई दिइसकेको थिएँ।
दासढुङ्गाको 'रिसर्च' सकेर फिल्म बनिसकेपछि त्यो फिल्मबाट आउने धनरासीको पर्खाइ थियो। दासढुङ्गा विषयमा चुर्लुम्ब डुबेर 'रिसर्च' सुरु गरेको थिएँ। आर्थिक रुपमा नियमित कमाई नभए पनि दासढुङ्गा विषयगत केही 'नयाँ' रहस्य भनिएका तथ्यहरु 'उद्घाटित' हुँदै थिए।
आर्थिक रुपमा कमजोर नभए पनि नियमित स्रोत भने थिएन। ठीक त्यही बेला प्रेमिकाले विहेको प्रस्ताव राखिन्। अहिले नै बिहे गर्न नसक्ने भए चलिरहेको सम्बन्धलाई त्यही टुङ्याउने कुरा गरिन्। मैले बुझाउन खोजे। फकाउन खोजे। मनाउन खोजे तर मानिनन्।
प्रेममा विछोड भयो। असफल प्रेमिकाको नाम चाहिँ अहिले मैले भन्दिनँ। मलाई केही न्यास्रो लागे पनि मैले आफूलाई एक्लो ठानिनँ।
उता, अपीलको प्रेममा पनि पछि यस्तै भयो। अपीलले पनि आफूलाई एक्लो ठानेन।
मैले त्यतिबेला सोचेको थिएँ। मसँग पूरा परिवार थियो। 'टिम' थियो। त्योभन्दा धेरै त दासढुङ्गा विषयमा काम गर्ने पूर्ण समर्पित भाव: र दृढ इच्छाशक्ति थियो। सम्बन्ध टुटेको थियो। जीवन टुटेको थिएन।
बसाइ बबरमहलमा थियो। कहिलेकाहीँ झ्यालबाट बाहिरा हेर्दथेँ। नजिकै देखिने रुखका पातहरु खसिसकेका थिए। पालुवा पलाउने 'सुरसार' नै देखिँदैनथ्यो तर आशा थियो। जीवन अगाडि बढिरहने दह्रो अठोट थियो। प्रतिज्ञा थियो।
धेरै पटक निराश नभएको पनि होइन तर निराश हुँदा मन-मनै सधैँ एउटै गीत गुन्गुनाइरहन्थे– 'यहाँ देशको छ चिन्ता..! तिमी माया-माया भन्छौ..!'
आजको कथा एउटै हो तर तीन वटा 'कोणमा' कुरा गर्ने जमर्को गरेको छु।
पहिलो हो– दासढुङ्गा विषय कला र सिर्जनाको तहबाट सफल रुपमा स्वीकार गरिएको थियो। सेन्सरको दु:ख झेलेर पनि नेशनल अवार्डहरु प्राप्त गर्न सफल भएको थियो।
दोश्रो हो– दासढुङ्गा घटनाले मदन-आश्रितको प्रेममा मात्र विछोड गराएको थिएन। फिल्म बनाउँदा हाम्रा जीवनमा पनि प्रेम विछोड भएका थिए। त्यही प्रेममा गरेको त्याग र समर्पणको कुरा हुनेछ। विछोड र मिलनको कथा पनि हुनेछ। कला-साधकहरुको भित्री–कथा पनि भनिनुपर्छ भनेर नै, प्रेम कथा लेख्न खोजिएको छ।
तेस्रो हो– दासढुङ्गा विषय, आर्ट र मेकिङ्गको हिसाबले सफल भए पनि। आर्ट र मेकिङ्गको हिसाबले न्याय पाए पनि। यो विषय लाई 'घटनाको' हिसाबले खोजिन बाँकी छ। दासढुङ्गा विषयले 'घटनाको' रुपमा, न्याय पाउन बाँकी छ, भन्ने हुनेछ।
न्याय खोज्दै भौँतारिँदा धेरै महिनाहरु बिते। अझै बितिरहेका छन। महिना यही थियो। ओस्कार एकेडेमी अवार्डको मौसम। मेरालागि प्रेम वियोगको मौसम भए पनि, फिल्म हेर्ने काममा चाहिँ कहिल्यै वियोग भएन ।
'क्लासिक फिल्म' हेर्ने झोक जागेको थियो। त्यही क्रममा 'दि फारमर्स डटर्स' भन्ने 'फोट्टिजको' अमेरिकन फिल्म हेरियो । गजब लाग्यो । ओस्कार एकेडेमी अवार्ड जितिसकेकी र दुई पटक मायाप्रेममा टुटेर पनि उठेकी अमेरिकन 'एक्ट्रेस' लोरिट्टा योङ्गको फिल्म रहेछ। उनले आफ्नो जीवनका बारेमा भनेको सम्झिएको थिएँ। उनी भन्थिन्, ‘प्रेम तपाईंले भेट्नुभएको चिज होईन। प्रेम त्यस्तो चिज हो, जसले तपाईंलाई भेट्टाउँछ।’
लोरिट्टा योङ्गले भनेजस्तै मलाई पनि कुनै दिन मेरो प्रेमले भेट्टाउन सकोस्। मनमा यही विश्वास लिएर आफ्नो कर्ममा लागिरहेको थिएँ। जीवनमाथिका विभिन्न उतारचढावहरु घटिरहे। फिल्मको कर्म कहिल्यै छुटेन।
'फिल्मी-कर्म' पनि अचम्मको छ। कोही क्यामराको अगाडि कर्म गरेका छन्, कोही पछाडि। क्यामराअगाडि गरीने कर्मलाई अभिनय भनिएको हुन्थ्यो। क्यामराको पछाडि गरिने कर्मलाई अभिनय भनिएको हुँदैनथ्यो तर मैले त दुवैलाई अभिनय मान्दथेँ– नियतिले गराएको अभिनय। त्यही नियतिको अभिनय। जसले तिमी जे गर्न खोज्दै छौँ, त्यही गराइरहेको हुन्छ तर कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि 'कट' भनिदिन्छ– डाइरेक्टर अदृष्य भएर।
नियति क्यामरा हो भने तिमी अभिनय गर्ने पात्र हौ। नियति सबकुछ हो कि हैन ? जवाफ लामो होला। मत-मतान्तरहरु होलान्। हुनु पनि पर्छ। 'वादे वादे जायते तत्व वोध' भने जस्तै। मानवको चेतना विकासका क्रममा नियति र कर्मका बारेमा केही मान्यता विकास भएका रहेछन्। एकखाले हुँदा रहेछन्– नियतिलाई नै कर्म ठान्ने। के हुन्छ भनेर पर्खेर बसिरहने ! 'डिटरमिनीजम-थ्योरीका' पक्षपाति। राम्रो कुराको श्रेय र नराम्रो कुराको दोष, नियतिलाई दिने। नियतिवादी भने पनि भयो।
अर्का खाले हुन्छन्। जीवन मेरो हो। यो मेरो जीवनका घटनाहरु मेरो इच्छाले मात्र चल्दछन् भन्ने सोच राख्नेहरु। 'फ्री-विल-थ्योरीका' पक्षपातिहरु। यो 'फ्री-विल-थ्योरी' (स्वतन्त्र ईच्छाको सिद्धान्त) लाई परिश्रमशील सिद्धान्त भन्न सकिएला तर सम्पुर्ण सृष्टी, मेरो आफ्नै इच्छाले मात्रै पनि त चल्दैन।
मेरो जीवनमा पनि, त्यही भइरहेको थियो। बुझ्दै थिए। नियति सबकुछ हो भनूँ भने कर्मको त केही अर्थ भएन। अब कर्म सबकुछ हो भनूँ भने मैले मेरो प्रेम बचाउन गरिएका कर्म किन खेर गए त ?
यी र यस्तै प्रश्नहरु कहिलेकाहीँ चिन्ता बन्न खोज्थे। त्यो चिन्ता हटाउन मलाई बुद्धको सम्यकवादी धारणा याद आएको थियो। कतै पढेको थिएँ– बुद्धले 'मध्यमार्गको' कुरा गरिरहेका थिएँ। ठीक 'ग्रे-लाइन थ्योरी' भनेर बुझ्दा सजिलो।
यही बुझेकोले होला, मेरो जीवनमा नियतिले दिएको र कर्मबाट सिर्जित उतारचढावहरुलाई 'सम्यक' भएर सहन सके। 'स्थित-प्राज्ञ' जस्तै गरी सहे। यहाँ 'थ्योरीका' कुराहरु धेरै भए। हुने नै भए किनकी एउटा जीवन 'बाँच्न र त्यसलाई 'सन्तुलित' तरिकाले 'यापन' गर्न धेरै 'जीवन-थ्योरी' चाहिने रहेछ। रात चाहिँ दिन बन्न र दिन चाहिँ रात बन्न पनि आफ्नै 'थ्योरी' होलान्।
न रात सधैँ रहिरहन्छ न दिन ! समय बित्दै गयो। म अहिले बसेको कोठाबाट पनि बाहिर रुखहरु देखिन्थे । कोठाबाट बाहिर देखिने रुखहरुमा नयाँ पालुवा पलाएका थिए। हरियाली बढदै जान थालेको थिएँ। दासढुङ्गा फिल्मको काम निरन्तर भइरहेको थियो।
दिमागको एकखाले तनाव सकिन-सकिन लागेको थियो। म बबरमहलबाट गौशाला राममन्दिर हुँदै पाटनको बाङ्गलामुखी मन्दिरनजिकको कोठामा बस्न थालेको थिएँ। मेरो कोठानजिकै राइली माइजू बस्नु हुन्थ्यो।
एक दिन राइली माइजूलाई भेटन जाँदा उनीसँग भेट भयो। उनको नाम उषा रहेछ। सेन्ट जेभियर्समा पढने उनी 'टिउसन' जाने हतारोमा थिइन्। त्यहाँबाट उनी जानै लागेकी थिइन्। मलाई के थाहा ! जान लागेकी उनी मेरो जीवनमा आउँदैछिन् भन्ने।
खै किन हो कुन्नि ! मैले उनैको बारेमा सोच्दै कोठामा फर्केको थिएँ। अर्को दिनको प्रतीक्षा गरेँ। रातले आफूलाई परिवर्तन गरिरहेको थियो। पूर्वको लाली झन्-झन् रातो हुँदै थियो। उषाकालीन समय प्रारम्भ हुँदै थियो। सूर्यका किरणहरु धर्ती नियाल्न खोज्दै थिए। जीवनको ठीक त्यही बेला उषा आएकी थिइन्– किरणको लागि असिम प्रेम लिएर।
धेरै पहिले लोरिट्टा योङ्गको फिल्म हेरेको सम्झिरहेको थिएँ। ओस्कार एकेडेमी अवार्ड विजेता अमेरिकन एक्ट्रेस लोरिट्टा योङ्गले भनेजस्तै प्रेमले मलाई भेट्टाउँदै थियो।
उता अपीलले पनि नयाँ प्रेम भेट्टायो भने मदन र विद्याका दुई रत्न समान छोरीहरुले पनि आफ्नो 'प्रेम' लाई विवाहको 'उत्सव' बनाइसकेका थिए। मेरो 'प्रेम-जीवन' जस्तै सबैको जीवन ठीकठाक चल्दै थियो।
मैले प्रेमलाई नयाँ आयाममा महशुस गर्न खोज्दै थिएँ। प्रेम, 'शक्ति' बनेको थियो। अघि बढ्ने 'उर्जा' दिएको थियो। त्यहाँ 'समर्पण' भाव थियो। त्यो 'समर्पणका' लागि 'सङ्कल्प' गरिएको थियो। प्रेमले 'स्वतन्त्रताको' माग गरिरहेको थियो।
'स्वतन्त्रता' हिँड्ने दुई बाटोहरु रहेछन् भन्ने राज खुल्दै थियो। कहिले 'स्वच्छन्द' भएर हिँड्न खोज्दथ्यो। गन्तव्यहीन भएर फैलिरहन खोज्दथ्यो। जहाँ मर्यादाहरुको आवश्यकता नहोस्। अराजकताको स्वरुप लिए पनि लियोस् तर फेरि स्वरुप बदल्दथ्यो।
प्रेमको 'गरिमा' लाई अराजकतामा टुङ्गिन दिनु हुँदैन भन्ने मनोदशा विकास गर्दथ्यो। 'प्रेम-स्वतन्त्रताको बाटो यो हैन भनेर 'अनुशासन-रुपी' सोचको बाटो हिँडदथ्यो। अनुशासनले 'गन्तब्य' निर्धारण गर्दथ्यो। जस्तै बाधा आए पनि निर्धारित 'गन्तव्य' तिर अघि बढिरहन्थ्यो। यसले 'मर्यादा' खडा गर्दथ्यो।
मर्यादाहरु 'सस्कार' बन्दथे। ती सँस्कारहरुले 'सभ्यता' प्रकट गर्दथे। त्यही 'चेतना' र अनुशासनरुपी 'सभ्यताले' नै बाँदरलाई 'मान्छे' बनाउँदै 'बुद्धत्व' सम्मको यात्रा गराएको थियो। हाम्रो प्रेम ठिक यसरी नै विकसित भएको थियो।
'प्रेम' नै 'संस्कार' बनेको थियो। अत्यन्त 'वैज्ञानिक' र 'प्रज्ञिक संस्कार'। कुनै पनि संस्कारको 'वैज्ञानिकता' नबुझाई लादिन्छ भने त्यो 'बन्धन' बन्न सक्दथ्यो। बन्धन त 'तोडिन' खोज्छ।
जब संस्कारहरु 'बन्धन' मानेर तोडिन्छन्, तब 'प्रेम' पनि 'अराजकता' बनेर टुङ्गिन्छ। हाम्रो 'प्रेम-स्वतन्त्रताले' मर्यादाहरु खडा गरेका थिए। त्यही सपना थियो। त्यही 'सङ्कल्प' सहित 'समर्पण' थियो। प्रेमले 'लाईफ-स्किल' विकास गर्दै थियो। मेरो व्यक्तिगत जीवन उमङ्गित हुँदै थियो।
दासढुङ्गा फिल्मलाई सेन्सर बोर्डले धेरै समय अल्झाए पनि अन्तत : फिल्म हलमा चल्ने भयो। फिल्मबाट 'नेशनल अवार्ड' समाउन पाइयो। विभिन्न टेलिभिजन र पत्रपत्रिकाहरुमा अन्तर्वार्ताहरु दिइयो। यो 'सेन्सर-बोर्डको' कथा , दासढुङ्गा अनिल आयोगका प्रमुखको घर पुग्दा पाएको पिटाइ र मेरो आमाको दुखद् स्वर्गारोहरणको पीडाको कथा कुनै दिन सुनाउनेछु तर आज प्रेम, फिल्म र नेशनल अवार्डको कुरा भइरहेको छ।
दासढुङ्गा फिल्मको 'प्रीमियर-शो' पनि भयो। 'प्रीमियर शो' को उदघाटन तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले गर्नुभएको थियो। दासढुङ्गा फिल्मले विभिन्न विधामा 'नेशनल अवार्ड' जितिसकेपछि सबैलाई महसुस भयो।
सिनेमाको कथा, अभिनय कला, सम्वाद, निर्देशकीय रुपमा र सम्पूर्ण कलाकारिताको रुपमा उत्कृष्ट छ। दासढुङ्गा फिल्म राज्यद्वारा स्वीकृत भएको थियो।
फिल्मलाई नेपाली 'प्राज्ञिक सम्पत्ति' मानिएको थियो। त्यस फिल्मको सर्जकका रुपमा रहेका हामी खुशीले गद्गद् भएका थियौँ। छौँ पनि तर यो दासढुङ्गा 'घटनाको' रुपमा भने खोजिन र सुल्झन बाँकी गहन विषय थियो।
एमाले पार्टीले अरु दल सत्तामा हुँदा छानवीनको माग गर्ने अनि आफू सत्तामा हुँदा चूप लागेर बस्नेगरेको देखिन्छ। कसैले दासढुङ्गासम्बन्धी कुरा गर्ने पो हो कि भनेर डराउने।
पार्टीभित्र अहिलेसम्म पनि निरन्तर दुई समूहको शक्ति र अस्तित्वको लडाइँ छ। देशैभरि सुर्य चिन्ह भएको झन्डा बोकेर अनावश्यक रडाको मच्चाइरहेका छन्।
यो दासढुङ्गा विषय कला-सिर्जनाको रुपमा सधैँ हाम्रो भएको छ। त्यसैले त हामी फेरि दासढुङ्गा-२ को लागि 'स्क्रीप' लेखिरहेका छौँ। नेता र नेतृहरुले नखोजे पनि हामी सधैँ खोजिरहने छौँ।
आज दासढुङ्गा फिल्मको ‘कृटिक’ सफलता र ‘नेशनल अवार्डको’ कुरा भनिरहँदा यी प्रेमकथाहरु भनेँ। यी प्रेमकथा एउटा 'प्रतिनिधि' कथा हुन्। एमाले पार्टीमा होस् वा फिल्म पार्टीमा होस्, यस्ता मिलन र विछोडका धेरै कथाहरु छन्। पहिले पनि भनिसकेछु– नेशनल अवार्डको 'विम्वमा' राष्ट्रप्रेमको कथा पनि भनिएको हो। ती आ-आफ्नै जीवन भोगाइहरुको मन्थन गरिएको हो।
प्रिय पाठकहरु, पूरा कथाहरु कहिल्यै भनेर नसकिने रहेछ। भनिरहेका कथाभन्दा पहिले पनि धेरै कथाहरु थिए र पछी पनि धेरै कथाहरु हुनेछन्। निरन्तर लेख्दै जाने छु, ती भन्न बाँकी कथाहरु– जो मबाहेक अरु कसैले सुनाउन सक्दैनन्।
घटना, समय, प्रेम र जीवनको मन्थन गर्दै ल्यापटपमा कथाहरु लेखिरहेको छु। अहिले, ब्याक ग्राउण्डमा गीत बजिरहेको छ। आज फोनमा हैन, ल्यापटपबाट गीत सुनिरहेको छु। गीत फेरिएको छ। उद्देश्यहरु अझ फराकिला भएका छन्। उर्जा थपिएको छ। प्रेममा सफलता छ। आँट बढेको छ।
गीत निरन्तर बजिरहेछ– 'यो नेपाली शीर उचाली.. संसारमा लम्किन्छ..! मुटुको ज्योति साथमा लिई.. अन्धकारमा चम्कन्छ..!
अपेक्षा-अनुभव-उपलब्धी-स्मृति हुँदै बिस्मृतिको अवस्थामा पुग्ने अधिकांश 'नियती'हरुलाई क्रमभङ्ग गर्दै सरल शब्दमा बगाई वर्षा ऋतुको जस्तै ताजगी प्रदान गरेको छ यो आलेखले । उत्कृष्ट !