दुई सन्तान र श्रीमान्सहित भारतको इन्दोरबाट नेपाल आउँदा सुनिता (परिवर्तित नाम)को परिवार सकुशल थियो । भारतमा बढिरहेको कोरोनाका कारण सुनिताका पतिको जागिर गुमेपछि उनीहरू नेपाल आए ।
जागिर गुमाउनुपरे पनि सबै परिवार सकुशल नै घर आइपुग्दा उनीहरू खुसी नै थिए । नेपाल छिरेको पछिल्लो दिन परिवारका चारै जनाले कोरोना परीक्षण पनि गराएका थिए । परीक्षणमा उनीहरू कसैलाई संक्रमण देखिएन । नयाँ वर्षको छेको पारेर नेपाल छिरेका सुनिताका श्रीमान्को गाह्रो्थ्यमा एकाएक समस्या देखियो । त्यसपछि महाकाली अञ्चल अस्पतालमा जाँच गराउँदा कोरोना संक्रमण भएको पुष्टि भयो ।
सुनिताका श्रीमान्लाई श्वास फेर्न पनि गाह्रो भइरहेको थियो । तत्कालै कोभिड वार्डमा भर्ना गरियो । वार्डमा अक्सिजनले मात्र नधानेपछि उनलाई आईसीयूमा राखियो । तीन दिन आईसीयूमा राखेपछि गत शनिबार उनको मृत्यु भयो ।
श्रीमान्को कुरुवा भएर अस्पतालमा बसेकी सुनितालाई पनि संक्रमण भयो । अहिले उनी महाकाली अञ्चल अस्पतालको कोभिड वार्डमा छिन् । एकातिर श्रीमान्को मृत्युको पीडा छ भने अर्कोतिर आफैँ संक्रमित भएर बस्नुपरेको छ ।
अस्पतालको झ्यालबाट चियाउँदै शिलापत्रसँग कुराकानी गर्न राजी भएकी उनले श्रीमान्को मृत्युमा बरखी बार्नसमेत पाएकी छैनन् । ‘लुगा पनि फेर्न दिएनन् डाक्टरले । अन्तिममा श्रीमान्को मुख पनि राम्ररी हेर्न पाइएन,’ बोल्दाबोल्दै उनको श्वास फुल्न थाल्छ । केही बेर रोकिन्छिन उनी, ‘घरमा छोराछोरी अलपत्र होलान्, आफू यहाँ छु । के दशा लाग्यो यस्तो !’