चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन्।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, नौ हजार ५९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १३४ अन्य सवारी साधन कारवाहीमा परेका छन्।
कारवाहीमा परेका सवारी साधनबाट तीन करोड ७० लाख ८४ हजार ५०० राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।
“यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्कलन भएको हो”, उनले भने, “ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका हुन्। हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेका छौँ।”