बालबालिकाकाे भविष्यका लागि जन्मिने बित्तिकै तीन हजार भत्ता 

जुम्लाको पातारासी गाउँपालिकाले बच्चा जन्मने बित्तिकै तीन हजार रूपैयाँ दिने निर्णय गरेको छ। पालिकाभित्र जन्मिएका छोराछोरी दुबैलाई तीन हजार रूपैयाँ दिने व्यवस्था गरिएकाे उपाध्यक्ष पुन्नकली बुढाले बताइन्।

'पहिले छोरा र छोरीबीचमा ठूलो विभेद हुन्थ्यो। छोरीलाई पाखा र छोरालाई काखा गर्ने संस्कार थियो,' उनले भनिन्, 'अहिले स्थानीय सरकारले छोराछोरी बराबरीको रूपमा हेरेको छ।' 

जन्मिने बित्तिकै उपलब्ध हुने रकमले अभिभावकहरूले बच्चालाई पोषिलो खानेकुरा खुवाउन सहयोग पुग्ने उनले थपिन।

'छोराको न्वारन गर्ने र छोरी जन्मदा नगर्ने, छोरीलाई सरकारी स्कुलमा पढाउने छोरालाई महङ्गो निजी स्कुलमा पढाउने विभेद कायमै छ। गाउँपालिकाले छोराछोरीको विभेद हटाउन यस्तो योजना ल्याएको हो,' उनले भनिन्। 

अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्थाका कारण पोषिलो खानेकुरा खुवाउन समस्या हुने हुँदा गाउँपालिकाले तीन हजार रूपैयाँ दिने र घरपरिवारले तीन हजार थपेर अनिवार्य रूपमा बच्चाको नाममा बैंकमा खाता खोल्नुपर्ने निर्णय समेत गरिएको छ।

बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणा समेत बच्चाकै खातामा जम्मा गर्न सबैलाई भनिएक छ।

यस्तै गाउँपालिकाले बालबालिका कोष समेत बनाएको छ। बालबालिकाको भविष्यप्रति जिम्मेवार बन्न र अभिभावकलाई उत्प्रेरित गर्न गाउँपालिकाले यस्ता कार्यक्रम ल्याएको कार्यकारी अधिकृत टेक बहादुर बुढथापाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-04-21 22:06:00

प्रतिकृया दिनुहोस्