हर्षदीपले एउटा हिमाचली लोकगीत पनि गाएकी रहिछन्- 'माय नि मेरिए सिम्ले दि राहे चम्बा कितनि क दूर' बोलको। यही क्रममा थाहा पाएँ, यो गीत मोहित चौहान लगायतका भारतका धेरै उम्दा गायकले पनि गाइसकेका रहेछन् । लोकगायक शरण दासले यसलाई मौलिक स्वरूपमा मौलिक बाजाका साथ गाएका रहेछन्। हिमाचलका पुस्तौं पुस्ताका लोकसर्जकले यो गीतको शब्दलाई मिहिन तरिकाले कुँदेका रहेछन्, मीठो भाकामा ढालेका रहेछन् ।
लाइहालें माया दूरदराजमा
आँखाको त हो यो कसुर !
आमा नि मेरी, गल्छीको बाटो
केन्जिङ छ कति दूर !
एकछिन एउटा नयाँ गीतबारे कुरा गरौँ ।
काठमाडौँकी केटी रसुवा, केन्जिङको केटासँग प्रेम गर्छे। केटा गाउँ गएको हुन्छ। भुइँचालो गएर हो वा पहिरोले बाटो थुनेर हो वा हिउँपहिरोले दुःख दिएर पो हो कि केटा भनेको समयमा काठमाडौँ फर्कंदैन।
दूरदराजमा फोनको भर हुँदैन। त्यसैले काठमाडौँमा रहेकी प्रिया छटपटिन्छे। केन्जिङ पुग्न आतुर हुन्छे, तर केन्जिङ कति टाढा छ, उसलाई थाहा छैन । प्रेमीलाई सोधूँ त उसको अत्तोपत्तो छैन । त्यसैले आमालाई सोध्छे- केन्जिङ कति दूर?
कथा मीठो भइहाल्यो। प्रेम र अस्थायी वियोग अभिव्यक्त गर्ने शब्द उत्ताउला छैनन्, सौम्य छन्। त्यसैले ती सुन्दर भइहाल्ने भए। यो गीतको राग पहाडे छ जुन लोकभाकामा आधारित छ । यसले पहाडको निश्छल स्वभाव झल्काउँछ। त्यसैले पनि यो गीत मीठो हुने नै भयो।
कतिपय कमजोर लोकभाका अति प्रचारित, आधुनिक, त्यसमाथि फिल्मी भाकाको संसर्गमा आउँदा बिटुलिन पुग्छन्। तर, यसको भाका हेर्दा लाग्छ, साँच्चै प्रभावशाली लोकलयलाई आधुनिक भाकाले बिगार्न सक्दैन। उल्टो, उसले आफैँ बदलिने प्रेरणा प्राप्त गर्छ ।
…
कोरोनाले अत्याएका बेला मन बहलाउने एउटा बाटो थियो- संगीत। मलाई मन पर्ने आसामे स्रष्टा भूपिन हजारिकाका गीतहरू सुनेँ । उनका गीतमध्ये सबैभन्दा मन परेको गीतमा उनी ब्रह्मपुत्र र गंगासँग रिसाएका छन्। ब्रह्मपुत्रको उनको गीतले मलाई अर्का आसामे स्रष्टा पापोनले सिर्जना गरेको आसामी र हिन्दी भाषाको सुन्दर गीत 'नमामि ब्रह्मपुत्र' तिर डोहोर्यायो, जसलाई भारतका धेरै राम्रा गायकले गाएका छन् । तीमध्ये एक हुन्- हर्षदीप कौर।