गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप

गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ।

गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भएपनि  मलङ्गवा नगरपालिकाले समयमा  औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। 

नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा  लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग  लाग्न सक्ने सम्भावना बढदै गएको मलङ्गवाका स्थानीयवासी सुन्दरश्याम यादवले बताए।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिकाअन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताए।

उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ।

गत वर्ष नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलङ्गवा नगरपालिका–२ का स्थानीयवासी विजय साहले बताए। स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: : 2021-04-17 09:09:00

प्रतिकृया दिनुहोस्