मध्यपहाडी आयोजनाको काम असारभित्रै सकिने

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ। साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ।

गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजनाका इञ्जिनीयर अनन्त बरालले जानकारी दिए।

सो खण्डमा गत पुसदेखि सडक कालोपत्र गर्न शुरु गरिएकामा हालसम्म आधाभन्दा बढी सडक कालोपत्र गरेर सकिएको छ।

“चालु आर्थिक वर्षमा यस खण्डको बाँकी सबै काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले कालोपत्रको कामले तीव्रता पाएको छ। अहिलेकै गतिमा काम गरेर बाँकी अवधिमा आयोजना सम्पन्न गर्न लागिपरेका छौँ”, इञ्जिनीयर बरालले भने।

मध्यपहाडी आयोजनाअन्तर्गत घट्टेखोलाबाट पर्वत जिल्लाको सीमा नयाँपुलसम्मको काम सकिएको छ। याम्दीबाट घट्टेखोलासम्म शुरुमा एक तहको काम सकेर त्यसपछि अर्को लेनको काम गरिने आयोजनाले जनाएको छ।

 

प्रकाशित मिति: : 2021-04-16 15:25:00

प्रतिकृया दिनुहोस्