वसन्त थापा
रिचित, चिरपरिचित, अपरिचित र सम्भावित पाठकवृन्द ! म तपाईंहरूलाई फेरि एक पटक धरानको सयर गराउन चाहन्छु, जस्तो मैले यसअघि पनि धेरै पटक गराएको छु। धरान, जहाँ म हुर्कें, लडें, बढें, खेलें र जहाँका स्कूल, कलेजमा मैले पढें। यस पटक पनि पहिले जस्तै म कसैको आग्रहमा र कसैले सुझाएको विषयमा केही कथा कहानी सुनाउन लागेको छु, मूलतः धरानसित सम्बन्धित। यस सिलसिलामा म केही जोक पनि तपाईंहरूलाई सुनाउने जमर्को गर्नेछु।
धरानको नाम लिने बित्तिकै यसलाई लाहुरेको शहर भन्छन्, मानिसहरू। अनि यसले ‘ट्यापेहरूको शहर’ भन्ने अगतिलो परिचय पनि बनाएको छ, यतातिर आएर। त्यसैगरी कोही कोही यसलाई सुकुमबासीको शहर पनि भन्ने गर्दछन्। अनि यसलाई फेशनको शहर मान्नेहरू पनि छन्।
तर, यीबाहेक पनि धरानको चिनारीको छुट्टै एउटा पाटो पनि छ। त्यो पाटो हो– धरानेहरूको रेला गर्ने बानी वा अर्को शब्दमा भन्ने हो भने हँसीमजाक वा ख्यालठट्टा गर्ने रौसे बानी। यस अर्थमा धरानलाई ‘सेन्स अफ ह्युमर’ को शहर भने पनि हुन्छ। चारित्रिक विशेषता बन्न गएको यो ‘सेन्स अफ ह्युमर’ ले गर्दा नै धरानेहरूलाई अरू ठाउँका मानिसहरूबाट अलग्गै छुट्याउँछ। यो चारित्रिक विशेषता टाढाका बासिन्दाका कुरै छाडौं, छिमेकका धनकुटेली वा विराटनगरियाहरूमा समेत पाइन्न।