चीनको सरकारी दमनबाट गुज्रिरहेका उइगुरहरुको उत्थानको लागि विधेयक

बिएल संवाददाता

वासिङ्टन डीसी

चीनको सरकारी दमनबाट गुज्रिरहेका उइगुरहरुलाई प्राथमिकताको आधारमा शरणार्थीको दर्जा दिने विधेयक सिनेटर द्वय मार्को रुबियो र क्रिस कुन्सले द्वीदलीय विधेयकद्वारा पेश गरेका छन्।

उक्त विधेयक पास भएपछि उइगुर र अन्य मुस्लिम अल्पसंख्यकहरुलाई अमेरिकामा पुनर्वासको लागी आवेदन दिन सहज हुने अपेक्षा लिइएको छ।

उइगुर पूर्वी र मध्य एशियामा बसोबास गर्ने तुर्कीको एक जनजाती हो।वर्तमानमा उइगुरहरु अधिकतम चीन जनवादी गणराज्यद्वारा नियन्त्रित  शिन्जियांग उइगुर स्वायत्त प्रदेश नामको राज्यमा बसोबास गर्दै आएका छन्। ती मध्ये लगभग ८० प्रतिशत सोही क्षेत्रको दक्षिण-पश्चिमस्थित तारिम घाटीमा छन्।

सिनेटर द्वय रुबियो र कुन्सले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनलाई पत्र लेखेर चीनका उइगुर र अन्य मुस्लिम अल्पसंख्यकहरुका लागी अतिरिक्त कदम उठाउन अनुरोध गरेका छन्। त्यस्तै किसिमको अर्को विधेयक प्रतिनिधिसभामा सांसद द्वय टेड ड्यूच र मेरियो डियाजले पनि पेश गरेका छन्।

गत महिना विदेशमन्त्री ब्लिङ्कनले पनि उइगुरहरुमाथि भएको दमनको बारेमा अमेरिकाले शसक्त आवाज उठाउने बताएका थिए।

स्रोतका अनुसार हाल चीनमा करिब दश लाख उइगुरहरुमाथि सरकारी तहबाटै चरम दमन हुँदै आएको छ। साथै महिलाहरु पनि बलात्कृत  हुँदै आएका छन्। 

उइगुर नेताहरुले अमेरिकाका राष्ट्रपति जो बाइडेन र सयुंक्त राष्ट्र सँघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखेर आफ्ना समस्याहरुको अन्तराष्ट्रिय स्तरमा सम्बोधन गरिदिन र उइगुर बहुल क्षेत्रमा रहेको चीन सरकारको यातनालाई बन्द गर्न माग गरेका थिए।

प्रकाशित मिति: : 2021-04-15 07:11:00

प्रतिकृया दिनुहोस्