सुदूरपश्चिम : संक्रमित आइसोलेसन सेन्टरमा, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु धमाधम घर फर्कंदै

आयोमेल

काठमाडौँ

माेहन जाेशी 

पछिल्लो तीन दिनमा भारतका विभिन्न स्थानबाट गौरिफन्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका एक हजार ६ सय बढी नागरिकको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ सय ५१ जनामा संक्रमण पुष्टि भयो। 

संक्रमण पुष्टि भएकाहरुलाई धनगढीस्थित वेलीमा निर्माण गरिएकोे आइसोलेसनमा पठाइने गरिए पनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सार्वजनकि यातायातमा बसेर आ–आफ्नो गन्तव्यस्थलतर्फ फर्किरहेका छन्।

त्यसरी कन्ट्याक्ट टेसिङमा परेका नागरिकलाई ओसार्ने सार्वजनिक यातायातमा भने सुरक्षा सतर्कता शून्य छ। यातायात व्यवसायीले अनिवार्य सुरक्षाका उपाय अपनाउने लिखित प्रतिबद्धतासमेत जनाईसकेका छन्। तर व्यवहारमा भने कार्यान्वयन भएको छैन। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सबै व्यवसायीलाई अनिवार्य सुरक्षाका उपाय अपनाउन पत्राचार  गरिएको भए पनि कार्यान्वयन हुन नसकेको बताए। ‘हामीले मात्रै भनेर केही हुँदैन,’ अध्यक्ष सापकोटाले भने, ‘सबै व्यवसायीले यसको पालना गर्नुपर्ने हो, त्यसो भएको छैन।’

स्वास्थ्यकर्मीले नागरिकको यस्तो लापर्वाहीका कारण सुदूरपश्चिममा पुनः कोरोना संक्रमण भयावह बन्ने चेतावनी दिइरहेका छन्। ‘सीमामा कोरोना संक्रमण पुष्टि भएका नागरिकलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको छ’ सेती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा शेरबहादुर कमरले भने–‘तर संक्रमितसँगै एउटै बसमा आएका नागरिकलाई घर पठाइने गरिएको छ, यो हाम्रा लागि खतरा हो ।’  

सेती आयुर्वेदिक अस्पतालमा प्रमुख डा खगेन्द्र बमका अनुसार सीमा नाकामा संक्रमित व्यक्तिसँग स्वस्थ व्यक्तिको सम्पर्क भएमा त्यस्तो व्यक्तिमा तत्काल कोरोना पोजेटिभ देखिने सम्भावना हुदैन। तर सीमामा उसलाई पोजेटिभ छैन भनेर खुला छोडेमा उसले समुदायमा रोग फैलाउने सम्भावना उच्च हुनेगर्दछ । व्यक्तिमा कोरोना भाइरस प्रवेश गरेको ३ देखि ७ दिनपछि मात्रै लक्षण देखापर्ने गरेको बताउँदै डा वमले भने–‘सीमामै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिमा तत्काल कोरोना पुष्टि हुँदैन, सम्पर्कमा आएका व्यक्तिले कम्तिमा १० दिन सावधानी अपनाउनै पर्छ ।’ 

प्रकाशित मिति: : 2021-04-12 21:28:00

प्रतिकृया दिनुहोस्