पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि भएको छ।

उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको थियो।

पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ र एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। त्यसमध्ये उपत्यकामा मात्रै १५४ मा सङ्क्रमण देखिएको छ।

आज १४१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। सङ्क्रमणबाट मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत छ। मुलुकभरि आइसोलेशनमा रहेका ८९ मध्ये १५ भेन्टिलेटरमा छन्। 

बिहीबारदेखि आजसम्म १४ हजार ७३४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। जसमा एक हजार २६० मा सङ्क्रमण पुष्टि भएको छ। उक्त अवधिमा ४९८ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्।

आज सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ छ। सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न अनुरोध गरिएको छ। 
­­­

प्रकाशित मिति: : 2021-04-11 19:09:00

प्रतिकृया दिनुहोस्