जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्।
७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रण बाहिर छ।
पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए। वडाध्यक्ष बोहोराले भने, “आगो नियन्त्रण बाहिर छ। निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन।”
पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ। आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ। आगलागीका कारण मान्छे बेहोस छन्। आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ।
तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन्। मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो।