फिदिम राप्रपा राजालाई खोज्दै

राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुढृद गर्न जनताले राजसंस्था माग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठहर गरेको छ। 

नयाँ नेपालको परिकल्पना र १२ बुँदे को मार्गचित्रले देशको आवश्यकता पूर्ति गर्न नसकेको, पिछडिएका अल्पसंख्यकहरुको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको र विदेशी चलखेल बढेको भन्दै राप्रपाले चिन्ता व्यक्त गरेको छ।

यसै निष्कर्षसहित राप्रपाको फिदिम नगरपालिका वडा नं ४, वडा कार्य समितिको शनिबार सम्पन्न वैठकले देशमा विद्यमान बेथिति अन्त्य गर्न, राष्ट्रियता, सार्वभौमिकता र प्रजातन्त्र सुढृद तुल्याउन देश र जनताले राजसंस्था माग गरेको ठहर गरेको छ।

वैठकलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने, ‘दुईतिहाई बहुमत र सर्वोकृष्ट दावी गरिएको संविधानले जनताको आकांक्षा पूर्ति गर्न असफल भएको र देश दुरावस्थामा अघि बढीरहेको अवस्थामा नेपाली जनताले, विशेष गरेर युवा पुस्ताले देशव्यापी रुपमा राजसंस्थाको माग गरेका छन्।’

राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले वैठकलाई सम्बोधन गर्दै राजसंस्था र सनातन हिन्दुराष्ट्र पूनःस्थापनबाट नै नेपाली जनताले प्रजातान्त्रिक निकास प्राप्त गर्ने बताए। राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले एकतावद्ध रुपमा राप्रपा अधिवेशन सम्पन्न गरेर विश्वसनीय नेतृत्व स्थापना गर्ने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष नन्द लावतीको अध्यक्षतामा सम्पन्न वैठकले, समिति विस्तार गर्दै उपाध्यक्ष शिवकला लावतीसहित ३१ सदस्य कायम गर्यो।

प्रकाशित मिति: : 2021-04-03 16:06:00

प्रतिकृया दिनुहोस्