मजदुरमाथि सामुहिक कुटपिट

सुनसरीको धरानमा स्थानीय युवाहरुको समुहले मजदुरमाथि सांघातिक कुटपिट गरी सख्त घाइते बनाएका छन्।

धरान उपमहानगरपालिका वडा नम्बर ११ सृजना मार्गमा स्वास्थ्य चौकी निर्माणमा काम गर्दै आएका मजदुरलाई सोहि ठाउँका युवाहरुले कुटपिट गरी सख्त घाइते बनाएका हुन्।

स्थानीय युवाहरुको समुहले झगडा छुटाउन आएका एकीकृत नेकपा माओवादीका धरान सचिब सुदर्शन श्रेष्ठलाईसमेत सख्त घाइते हुने गरी कुटपिट गरेका छन्।

घाइते हुने मजदुरहरुमा सुनसरी क्षेत्र नं. ३ पश्चिम कुशाहा २ का पचु उराव तथा बर्जु गाउँपालिका वडा नंं. ६ का आच्चेलाल उराव रहेका छन्। स्वास्थ्य चौकी भवन निर्माण स्थलमा काम गर्दै गरेका उनीहरुलाई सोही वडाका युवाहरुले विभिन्न गालिगलौज गर्दै जिस्क्याएका थिए।

आफूहरुलाई किन जिस्क्याएको भन्दै सोध्दा समुहमा रहेका युवाहरुले निर्घात कुटपिट गरेको घाइते मजदुरले बताएका छन्।

मजदुरमाथि सांघातिक कुटपिट भएको देखेपछि नेकपा माओवादीका नगर सचिव श्रेष्ठ छुट्याउन गएका थिए। उनले ती युवाहरु र मजदुरलाई छुट्याएर घर पुगेपछि ती युवाहरु श्रेष्ठकै घरमा आएर उनलाईसमेत निर्घात कुटपिट गरेर भागेको घाइते श्रेष्ठले बताए।

घटनापछि इलाका प्रहरी कार्यालय धरानले दुई जना युवाहरुलाई पक्राउ गरेको छ। अन्य तीन जना फरार रहेका छन्। पक्राउ पर्नेहरुमा सोहि ठाउँका प्रदिप तामाङ र सुजन तामाङ रहेका छन्। फरार हुनेहरुमा दिप्तिहाङ राई, समीर तामाङ लगायत रहेका छन्।

घाइते तीनै जनाको अहिले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-02 06:01:00

प्रतिकृया दिनुहोस्