जनगणनाका लागि ६ गुणा बढी दरखास्त

आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ।

चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो। चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए।

चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो। त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर छ।

भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६१८ महिला, एक हजार ८६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेको जानकारी दिए। जनगणना तयारीको काम तीव्ररूपमा अगाडि बढेको भन्दै जिल्लाका सात स्थानमा आगामी वैशाख १ गते स्थानीय जनगणना कार्यालय स्थापना गरिने उनले बताए।

भण्डारीका अनुसार भरतपुरको भरतपुर–१०, भरतपुर–६ गीतानगर र भरतपुर–१८ चनौलीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिँदैछ।

त्यस्तै कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गरी कालिकामा, रत्ननगर नगरपालिका लागि रत्ननगर नगरपालिकामा तथा राप्ती र खैरहनी हेर्ने गरी राप्ती नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना हुने भण्डारीले बताए।

भण्डारीका अनुसार भरतपुरमा मात्रै ४६२ गणक र १०४ सुपरीवेक्षकको दरबन्दी रहेको छ। त्यस्तै माडीमा ५३ गणक र १४ सुपरीवेक्षक, रत्ननगरमा १२२ गणक र २४ सुपरीवेक्षक, कालिकामा १०५ गणक र २२ सुपरीवेक्षक तथा राप्तीमा १५३ गणक र ३९ सुपरीवेक्षक आवश्यक पर्छ। रासस

प्रकाशित मिति: : 2021-03-31 08:23:00

प्रतिकृया दिनुहोस्