प्रहरी कर्मचारीको बदमाशीः मानिसलाई ठक्कर दिएको मोटरसाइकलको नम्बर नै परिवर्तन

विजय साह

जनकपुर

महोत्तरीको बर्दिबास इलाका प्रहरी कार्यालय मातहत रहेको चौलिखा प्रहरी कार्यालयका इन्चार्ज सई झलक बहादुर घिमिरेले ठक्कर दिइएको गाडी नै परिवर्तन गरिदिएपछि आक्रोशित स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन्। 

स्थानीयले सई घिमिरेले गाडी पक्षसँग मिलेर घटना दबाउन ठक्कर दिएको गाडी नै परिवर्तन गरेपछि बर्दिबास नगरपालिका वडा नम्बर ६ मा पर्ने चौलिखा प्रहरी कार्यालय घेराउ गरेका थिए।

उनीहरुले अपराधलाई संरक्षण दिइएकाले सई घिमिरेमाथि कानुनी कारवाही र ठक्कर दिइएको वास्तविक गाडी उपलब्ध गराउनुपर्ने माग राखेका छन्। स्थानीय उपेन्द्र महतोका अनुसार बर्दिबास नपा ६ मा गएको सोमबार साँझ स ८ प ३९३६ नम्बरको मोटरसाइकलले ६३ बर्षीय रमेश नायकलाई ठक्कर दिएको थियो।

महतोले भने, 'ठक्करबाट सख्त घाइते नायकलाई तत्कालै उपचारको लागि लालगढस्थित मोडेल अस्पताल पठाइयो र त्यसै बेला घटनास्थल पुगेका चौलिखा प्रहरी चौकीका प्रहरीलाई मोटरसाइक र त्यसका चालक संजयकुमार शर्मालाई प्रहरीको जिम्मा लगाएको थिएँ।'

यता नायकलाई लालगढमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही राति काठमाडौं पठाइएको थियो। काठमाडौंमै उपचारको क्रममा बिहिबार उनको मृत्यु भयो। मृत्यु पश्चात जाहेरी लेखाउन जाँदा प्रहरीले अर्कै नम्बर उल्लेख गरेपछि ठक्कर दिइएको मोटरसाइकल परिवर्तन गरिएको खुलासा भएको हो।

घटनामा संलग्न स ८ प ३९३६ नम्बरको मोटरसाइकल बुझाइएकोमा प्रहरीले भने परिवर्तन गरेर ज ११ प ७७९५ नम्बरको मोटरसाइकल उल्लेख गर्न खोजेको थियो। घटनामा संलग्न मोटरसाइकलको सवारी अनुमति र बिमा अभिलेखको म्याद समाप्त भइसकेको बुझिएको छ। 

सई घिमिरेले मोटसाइकलवाला पक्षसँग मोटो रकम लिएर यो सब गरेको स्थानीयको आरोप छ। सई घिमिरे यही आउँदो बैशाख १ गते अवकाश पाउँदैन छन्। उनी गएको बुधबार नै बिदा स्वीकृति लिएर घर गएका छन्। 

सई घिमिरेलाई कानुनी कारवाही र ठक्कर दिइएको मोटरसाइकल नझिकाएसम्म मृतक नायकको लाशको दाहसंस्कार नगर्ने अडानसहित कार्यालय घेराउ गरेका स्थानीयवासीलाई इप्रका बर्दिबासबाट खटीएका प्रहरीले आश्वासन दिएपछि उनीहरु घर फर्केका हुन्।

प्रहरीले दोषी प्रहरीलाई अपराधअनुसारको कानुनी प्रकृया अगाडि बढाउने र घटनामा संलग्न मोटरसाइकल झिकाउने प्रतिबद्धता गरेपछि गाउँले घर फर्केका थिए। 

प्रकाशित मिति: : 2021-03-27 13:28:00

प्रतिकृया दिनुहोस्