अठ्ठाइस मुद्दाका ४० जना पक्राउ

डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो। ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उनले जानकारी दिए। 

वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए। पक्राउ परेकाबाट १६ सवारीसाधन, ८४४ दशमलव २९ क्युफिट काठ बरामद गरिएको छ।

सवारीसाधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामद भएका छन्। सोही अवधिमा  एक हजार १०३ दशमलव ५७ क्यूफिट काठ बेबारिसे अवस्थामा भेटिएको खनालले बताए।

यसै समयमा ३५ वटा जङ्गली जनावरको उद्धार गरिएको छ भने ४२ वटाको व्यवस्थापन गरिएको छ। उद्धार गरिएका जनावरमा चित्तल, गोही, अजिङ्गर, रतुवा, हुचिल जस्ता रहेका छन्। मृत अवस्थामा भेटिएका पाटेबाघ, चित्तल, बँदेलको व्यवस्थापन गरिएको उनले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-03-27 13:16:00

प्रतिकृया दिनुहोस्