डढेलोले वन सखाप, बस्तीपनि असुरक्षित बन्दै

File photo
File photo

चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ।

पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर-दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो। डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको हो। बर्दिवास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा सधैँजसो देखिने डढेलोले वन क्षेत्रका रुख, बुटा खरानीमा परिणत भएका छन्। डढेलोले साखु र अन्य संरक्षित जातिका नयाँ बिरुवा डढेर खरानी हुने र वयस्क रुख आगो लागेर सुक्दै गएपछि वनक्षेत्र उजाड हुने क्रम बढेको हो।

अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेर खङ्रङ्ग भएका बेला वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ। वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनसँगै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन्।

यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको बर्दिवास–५ गणन्ताका सामाजिक कार्यकर्ता कहरमान स्याङ्वाले बताए। हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैतमध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन्।

जिल्लाको सघन वन क्षेत्रमा चार ठाउँ वन सुरक्षा पोष्ट र बाँके मरहा साझेदारी वनको कार्यालय नै भए पनि डढेलो नियन्त्रणमा भने उदासिनता देखिएको सर्वसाधारणको गुनासो छ। फागुन मध्यदेखि नै वनमा डढेलो देखिन थाल्छ। घाँसे, दाउरे र गोठालाले डढेलो लगाउने गरेका वनसम्वद्ध सरकारी सेवाबाट अवकास लिएका हाल बर्दिबास–१ कै बासिन्दा चन्देश्वर यादव बताउछन्। फागुन÷चैतमा वनमा डढेलो लगाए त्यसपछि हुने वर्षासँगै नयाँ घाँस पलाउने बिश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेको सहायक वन अधिकृतको सेवाबाट अवकास लिएका यादवको अनुभव छ।

पूर्वपश्चिम राजमार्गको भव्सी नदीदेखि पश्चिममा बाँके नदीसम्मको १६ किलोमिटर दूरीको दुवैतिर सघन वन क्षेत्र छ। वनसँगै जोडिएका बर्दिवासका हाथिलेट फार्लाइन, लटियानी, भव्सी, माईस्थान, वरडाँडा, चेरु, गणन्ता, ढुङ्ग्रे, सोनापेटी, खयरमारासहित दर्जनभन्दा बढी बस्ती छन्।

त्यसैगरी गौशाला नगरपालिकाका पनि ढल्केवर, बेलगाछी, भण्टाबारी, लक्ष्मीनियाँ, कालीपुरसहितका बस्ती पनि वनसँगै जोडिएका हुँदा डढेलोले गर्दा यी बस्ती आगलागीको उच्च जोखिममा रहेका गौशाला–१० बटौवाका २५ वर्षीय युवा विवेककुमार कुशवाहाको चिन्ता छ। रासस
 

प्रकाशित मिति: : 2021-03-27 09:20:00

प्रतिकृया दिनुहोस्