आजदेखि गैँडा गणना कार्य शुरु

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो। वन तथा वातावरणमन्त्री प्रेम आलेले  बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन्।
 
गैँडा गणनाको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए। उनले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उनले भने, “दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ।” 

चोरी-शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उनले चोरी-शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिए। मन्त्री आलेले भने, “विभिन्न तस्करहरुबाट खागका लागि गैँडा मारिने गरेको छ। यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ।” पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उनको भनाइ थियो। संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उनले बताए।
  
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सन् २०१५ को गणनायता १६१ गैँडा मृतावस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार मृतावस्थामा भेटिएका गैँडामध्ये १५५ गैँडा प्राकृतिक कारण र छ वटा गैँडा चोरी–शिकारीका कारण मरेका थिए।

सोही समयमा चोरी-शिकारीमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ। बरालका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै निकुञ्जमा २६ गैँडा मरेका छन्। यसमध्ये चारवटा चोरी-शिकारीले मारेको उनले बताए। रासस

प्रकाशित मिति: : 2021-03-22 18:36:00

प्रतिकृया दिनुहोस्