मृत्यु भएको ४७ वर्षपछि शहीद घोषणा

File photo
File photo

झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन्।  

उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो। विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरे पनि उनीहरु दुई जना छुटेका थिए।  

समकालीन योद्धा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला उनीहरुलाई शहीद घोषणा गरेका हुन्। यो राज्यले उनीहरुप्रति गरेको उच्च सम्मान भएको अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताए।  उनका अनुसार  सुखानीका तत्कालीन पाँच योद्धालाई पनि उनले पहिलोपटक प्रधानमन्त्री हुँदा शहीद घोषणा गरेका हुन्। 

प्रधानलाई विसं २०३० कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेका अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची हत्या गरेका थिए।  डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो।

प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाउँ पञ्चायतमा आफू अध्यक्ष हुँदा हाल बुद्धशान्ति गाउँपालिका-१ स्थित भोटेटारमा उनको अर्धकदको शालिक बनाइएको बताए। सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया  र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेको वाग्लेको भनाइ छ। रासस

प्रकाशित मिति: : 2021-03-22 18:27:00

प्रतिकृया दिनुहोस्