नयाँ शहर आयोजनाअन्तर्गत पाँचथरको फिदिममा जग्गा एकीकरणको काम पूरा भएको छ।
आधुनिक बस्ती विकास गर्ने उद्देश्यसहित थालिएको जग्गा एकीकरणको काम पाँच वर्षपछि पूरा भएको हो। एकीकरण पूरा भएपछि सो जग्गा जग्गाधनीलाई फिर्ता गर्ने तयारी थालिएको छ।
जग्गा एकीकरण आयोजनाअन्तर्गत जमीनलाई आधुनिक बस्ती बसाल्न उपयुक्त बनाइएको हो। फिदिम नगरपालिका-२ नेपालटारमा स्थानीयवासीको ९९ रोपनी जग्गामा बस्ती बसाल्न उपयुक्त चौकोष र मोहडा निर्माण, सडक निर्माण, चौर तथा पार्कका लागि आवश्यक जग्गा व्यवस्थापन, सरकारी कार्यालयका लागि जग्गा व्यवस्थापनलगायत कार्य सम्पन्न भएको छ।
आधुनिक बस्तीका लागि विकसित भएको उक्त जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्ने कार्य आगामी साताबाट शुरु हुन लागेको नयाँ शहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए।
नयाँ शहर आयोजना कार्यालय फिदिमले नेपालटार क्षेत्रमा बस्ती विकास गर्ने उद्देश्यसहित २०७२ सालबाट जग्गा एकीकरणको कार्य थालेको थियो। स्थानीयवासीको १०० कित्तामा रहेको ९९ रोपनी जग्गालाई एकीकरण गर्न अधिग्रहण गरी विकसित तुल्याइएको हो। रासस