फागुन २६ गते शुरू भएको ‘कुणा कर्णाली’, कर्णाली उत्सवको दोस्रो संस्करणले फागुन २९ सम्मको चार दिनमा कर्णालीलाई समेट्ने र स्मरण गर्ने प्रयास गर्यो।
तीमध्ये ‘हाम्मो मान्नवी’ अर्थात् हाम्रो भूगोल, हाम्रो धर्तीलाई सम्झेर कर्णाली चिनाउने प्रयास साह्रै भावनात्मक थियो। समग्रमा नेपालको धर्ती विश्वमै अलौकिक र आकर्षक त छँदैछ नै, त्यसमा कर्णालीले थपेको सौन्दर्यलाई कुनै विशेषणले पुष्टि गर्न खोजेपनि अपूर्ण नै हुनेछ।
प्रकृतिले अपार सौन्दर्य र विविधता दिएको छ कर्णालीलाई। उत्सव अवधिभर विचार, विमर्श र मन्थन भयो–प्रकृतिको अपार प्रेम पाएर पनि सरकारको प्रेम र ध्यानाकर्षण किन पाएन कर्णालीले? अपार सम्पदा हुँदाहुँदै विकासको प्राथमिकतामा कर्णाली किन पछि परिरहेछ? सरकारी स्तरबाट किन उपेक्षित रह्यो? कर्णालीमा धेरै समस्या छैनन्, तर कर्णालीले समाधान पाउँछ भन्ने आश्वासन र भरोसा पाउन छोडेर भौगोलिक विकटताको बहानामा यसलाई पछि पार्ने प्रयास भइरहेको त होइन?