जनता समाजवादी पार्टी (जसपा) र अन्य राजनीतिक पार्टीबीच भेटघाट बाक्लिन् थालेपछि यतिबेला नेपाली मिडियादेखि सामाजिक सञ्जालमा छाएको नाम हो, सांसद रेशमलाल चौधरीको।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समिकरणको कुरा चलेसँगै उनको मुद्धा फिर्ताको विषयमा विभिन्न तहको बहस सुरु भएको छ।
चौधरीको विषयलाई लिएर कतै सकारात्मक टिप्पणी छ भने कतै नकारात्मक। चौधरीको विषयमा उच्च अदालत, दिपायलले उठाएको मुचुल्कासहितको समाचार पत्रपत्रिकामा प्रकाशन हुन थालेपछि धेरैको चासो उनीतर्फ मोडिनु स्वभाविक हो।
सर्वोच्च अदालतमा विचाराधीन उनको मुद्धामा सरकारको निर्णय के होला? यो सबैका लागि कौतुहलको विषय हो।
जेल बाहिर उनको बारेमा विविध चर्चा चलिरहेको बेला जेलभित्र उनको दैनिकी कसरी कटिरहेको छ?
बिएल नेपाली सेवाले डिल्लीबजार कारागारमा पुगेर चौधरीको दिनचर्या बुझ्ने प्रयास गरेको थियो। विगत ३ वर्षदेखि डिल्लीबजार कारागारमा कैदीको जीवन बाँचिरहेका चौधरीको बिहान घडीले ४ बजेको संकेत गर्ने बित्तिकै उनको दैनिकी सुरु हुन्छ।
भिआइपी कैदी राखिने कारागारको सानो आँगनमा कसरत गरेपछि उनको नित्य कर्म सुरु हुन्छ। यसपछि उनी हातमा कलम र केहि थान कागज बोकेर लेख्नमा व्यस्त हुन्छन्। बिहान चियाको चुस्कीसँगै लगातार ५ घण्टा कलम दौडाउनु उनको नियमित काम हो।
फलस्वरुप ३ वर्षको जेल जीवनमा उनले ९ वटा पुस्तक लेख्न भ्याइसकेका छन्। पुस्तक लेखनबाटै आएको रकमले उनले जेलमा बसेर छोराप्रतिको जिम्मेवारी पूरा गरिरहेका छन्। भूमिगत जीवन बिताउँदै गर्दा उनले लेखेको पुस्तक ‘चिरफार’ धेरैले रुचाएको पुस्तकमा पर्छ। पुस्तकमार्फत उनले टिकापुर घटनाको सविस्तार बताउने प्रयास गरेका छन्।
‘मैले यहाँ आएपछि डिल्लीबजार कारागारमा ९ वटा पुस्तक लेखिसकेको छु। जसमध्ये चिरफार, बधुँवा कमैया, परिबन्द लगायत ६ वटा प्रकाशित भइसकेको छ। ‘हिडन स्टोरी फ्रम इन्साइड द जेल’, ‘इक्जाइल टु प्रिजन’ नामक अंग्रेजी पुस्तक, ‘देवीसरा’ उपन्यास प्रकाशनको तयारीमा छ’, उनले बिएल नेपाली सेवासँग भने–‘मेरो जीवनीमा आधारित दामोदर पण्डितद्धारा लिखित ‘रेशम’ नामक पुस्तक प्रकाशन भएको छ।’
उनका लागि दुनियाँको गतिविधि नियाल्ने मुख्य माध्यम नै पत्रपत्रिका बनेको छ। बिहानको ९ बजेपछि सरकारी दालभातमा आफ्नो भोक मेट्दै भेटघाटको तयारीमा जुट्छन्। मुखमा हाँसो ल्याउँदै उनले भने, ‘यस्तै हो सरकारी खाना दाल भए तरकारी हुँदैन, तरकारी भए दाल हुँदैन।’
घडीले १० बजेको संकेत गरेसँगै उनलाई भेट्न कोही आएको सन्देश उनीसमक्ष आइपुगेकै हुन्छ। उनी जेल बस्न थालेदेखि कोरोनाले बन्दाबन्दी गराएको केहि महिनाबाहेक बाँकी दिनमा उनलाई भेट्न आउने मान्छे टुटेको छैन। कहिले आफन्तको भिड लाग्छ त कहिले राजनीतिककर्मीको। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को प्रत्यक्ष उम्मेदवार बन्दै उनले चुनाव जितेका थिए।
उनलाई भेट्न आउनेको लर्कोमा थारु समुदायभन्दा अन्य जातिका व्यक्ति धेरै देखिन्छन्। उनी उत्साहका साथ भन्छन्, ‘प्रत्येक दिनको भेटमा गैर थारु नै धेरै आउनुहुन्छ। सान्त्वना दिनुहुन्छ। सकेको सहयोग गरेर जानुहुन्छ। यसैबाट प्रष्ट हुन्छ मेरो नियत गलत छैन भनेर।’
हरेक दिन बिहानको १० बजेदेखि बेलुकासम्म भेटघाटमै बित्ने गर्छ उनको समय।
राजनीतिक बृत्तमा उनलाई सरकारले कुनै बेला पनि छोड्न सक्ने समाचार आएपछि केहि दिनयता उनलाई भेट्न आउने मान्छेको संख्या पनि ह्वात्तै बढेको छ। त्यसैले कुनै बेला त उनले कुराकानी गर्दागर्दै खाना खाने फुर्सदसम्म पाएका छैनन्।
‘सबैसँग १०-१० मिनेट कुरा गर्नै पर्यो। खाजा-खानाको कुरा त परै जाओस्,’ उनी भन्छन्।
जेलमा पनि उनको व्यस्तता सांसदभन्दा कम छैन। फरक यति हो, अरु खुल्ला आकाशमुनी व्यस्त छन्, उनी जेलको पर्खालभित्र।
बेलुकीको दालभातसँगै केहि समय टेलिभिजनमा समाचार हेरेपछि उनको दिन सकिन्छ।
सत्ता समिकरणसँगै बाहिर चलेको हल्लाको विषयमा राखेको जिज्ञासामा उनी पहिले त हाँसे। यसपछि भने, ‘राजनीतिक पार्टीका लागि म त एउटा बजारमा बेच्न राखेको सामान जस्तै भएको छु। सबैतिर मेरो मोल मोलाई भइरहेको छ।’
उनले दु:खेसो पोखे, ‘अहिले राज्यसत्ता आफै रंगमञ्चमा बसेर नाटक मञ्चन गरिरहेको छ। जेलको एकछेउमा बसेर सरकारको नाटक हेर्दै दिन बिताउँदैछु।’
प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीमा चुनाव जितेका उनले २०७५ पुस १९ मा सांसदको सपथ लिएका थिए। देश र जनताको सेवा गर्ने सपथ खाएका चौधरी चुनाव जितेदेखि हालसम्म कैलालीबासीसमक्ष पुग्न पाएका छैनन्।
भूमिगत जीवन बिताइरहँदा भौतिक उपस्थितिविनानै उनले ३४ हजार ३ सय ४१ मत ल्याएर चुनाव जितेका थिए। उनका प्रतिद्धन्द्धि बाम गठबन्धनकी मदनकुमारी साहभन्दा २० हजार ९ सय ३५ मतको अन्तरले विजय भएपनि जेलको चौखटमा खुम्चिएर बस्नुपरेकोमा उनलाई निकै पिडा छ।
२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट आन्दोलनमा व्यक्ति हत्याको आरोपमा चौधरीलाई जेल चलान गरिएको थियो। उनी भन्छन्, ‘देश विकास गर्ने इच्छा त मेरो पनि थियो नि। आफ्नो जातिको वर्ग उत्थान गर्ने चाहना त मलाई पनि छ नि। हेरुम सरकारले कहिलेसम्म थुनेर राख्छ।’