कर्मचारी आचारसंहिता २०७४ मा कर्मचारीले पालना गर्नुपर्ने कर्तव्यका बारेमा थुप्रै बुँदा उल्लेख छ।
उल्लेखित बुँदा अन्तर्गत कार्यालयको हाता र कार्यालयभित्र धुम्रपान, मद्यपान एवं सुर्तीजन्य पदार्थ सेवन नगर्न र नगराउनु भनेर पनि उल्लेख गरिएको छ।
सरकारी कार्यालयमा त निकै पहिलादेखि सरकारले धूमपान निषेध गरेको छ।
कार्यालय हाताभित्र धुम्रपान गर्ने सेवाग्राही र कमचारी दुवैलाई सुर्तीजन्य पर्दाथ नियन्त्रण र नियमन गर्ने ऐन अनुसार कारवाही गरिने व्यहोरा समेत खुलाइएको छ।
तर यी सब कुराको वेवास्ता गर्दै सुर्ती सेवन गर्दै गरेको अवस्थामा देखिए एक स्वास्थ्य शाखाका प्रमुख नै।
उनी हुन्, धनुषा जिल्लाको मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारी। उनले कार्यालय कक्षमा सुर्ती सेवन गरेको एउटा भिडियो समेत बाहिरिएको छ।
भिडियोमा स्वास्थ्य शाखा प्रमुख भण्डारीले हातमा सुर्ती मिचेर तयारी अवस्थामा राखेको सुर्ती प्वाँक मुखभित्र राखेको देखिन्छ।
स्वास्थ्यप्रति सजग रहन जनतालाई सल्लाह सुझाव दिने जिम्मेवारी बोकेका भण्डारीले पदीय र कार्यालयको मर्यादाको ख्यालै नगरी कार्यालय कक्षभित्र त्यो पनि कार्यालय प्रमुख बस्ने कुर्सीमै बसेर सुर्ती सेवन गरेको बिषयलाई स्थानीयबासीले अस्वभाविक रुपमा लिएका छन्।
भण्डारीलाई सुर्तीजन्य पर्दाथ नियन्त्रण र नियमन गर्ने ऐन अनुसार कारवाही हुनुपर्ने माग उठ्न थालेको छ।