फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको छ।
फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि अस्थायी यात्रा अनुमतिमा प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ।
प्राप्त समाचारअनुसार यहाँको सरकारले मंगलबार राति सो सूचना जारी गरेको छ।
सूचनामा विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने बताइएको छ।
यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ। सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ।
सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ।
यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा यहाँबाट बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ।
फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमितहरु देखिन थालेका छन्। विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यो यात्रा प्रतिबन्ध लगाइएको हो।
मंगलबार मात्र पनि यहाँ ५ हजार ४०० जना संक्रमित भेटिएका छन्। यहाँ कोभिडको नयाँ प्रजातिको संक्रमण पनि बढेको देखिएको अधिकारीहरुले जनाएका छन्।