जनगणनाका लागि गणना कार्यालय स्थापना

आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ।

राष्ट्रिय जनगणना, २०७८ का लागि इलाम सदरमुकामस्थित बिपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो। विसं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए।

कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको छ। कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ। कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ। 

जनगणनामा खटाइने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिनका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण यही चैत ९ देखि १५ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ। सो प्रशिक्षक प्रशिक्षणका लागि इलामबाट २० जना सहभागी हुनेछन्। उनीहरुले जिल्लामा छनोट हुने सुपरिवेक्षक र गणकलाई तालिम दिनेछन्।

जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ। इलामका लागि मात्र १०६ सुपरिवेक्षक र ४१० गणक माग गरिएको छ।

चैत ५ देखि ११ गतेसम्म कार्यालयमा उपस्थित भएर पनि आवेदन गर्न सकिने जनगणना अधिकारी कार्कीले बताए। सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्। रासस
 

प्रकाशित मिति: : 2021-03-16 06:31:00

प्रतिकृया दिनुहोस्