पहिलेकै चहलपहल फर्किनेमा होमस्टेका सञ्चालकहरु आशावादी 

रोल्पा नगरपालिका वडा नं ४ मा रहेको गुरुङगाउँ सामुदायिक होमस्टे कोरोना महामारीसँगै १ वर्षदेखि बन्द अवस्थामा छ। सामुदायिक होमस्टे कोरोनाका कारण बन्द भएपछि होमस्टे सञ्चालकहरु समस्यामा परेका छन्।

होमस्टेबाट राम्रो आयआर्जन गरिरहेका स्थानीयहरुलाई अहिले आर्थिक गुजरा चलाउन धौ-धौ भईरहेको छ। स्थानीय उत्पादनहरु समेत खपत् नहुने र होमस्टे व्यवसाय नै धरापमा परेको सामुदायिक होमस्टेका अध्यक्ष हरिजङ गुरुङले बताए।कोरोनाका कारण होमस्टे सञ्चालन मात्र नभई स्थानीय उत्पादनहरु खपत नहुने देखेपछि भर्खरै अर्गानिक उत्पादनमा चासो दिइरहेका स्थानीयहरु निरुत्साहीत भएका छन्। 

गाउँमा उत्पादित बस्तुहरु बिक्री नहुनुका साथै स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत नोक्सान भएको स्थानीय युवाहरु बताउँछन्। होमस्ट बन्द हुँदा अहिले समस्यामा परेको होमस्टे सञ्चालक प्रविण गुरुङको भनाई छ। होमस्टे सञ्चालन भएदेखि कला, सँस्कृति देखाउने र बेरोजगारले रोजगार पाएको उनको ठम्याई थियो। कोरोना भाइरस हटेपछि होमस्टेहरु पुनःसञ्चालन सञ्चालन आउनेमा सञ्चालकहरु आशावादी छन्। 

२०७० सालमा स्थापना गरिएको होमस्टेका लागि गतवर्ष छुट्याइएको रकम समेत खर्च हुन सकेन। ५ घरबाट सञ्चालन थालिएको होमस्टे गत वर्षको बजेटबाट २० घर पुर्याउने लक्ष्य थियो। तर कोरोनाका कारण ती काम पनि हुन सकेन्।

होमस्टे सञ्चालनका लागि तालिम, भ्रमण, होमस्टे व्यवस्थापन आदिका लागि प्रदेश र स्थानीय तहले छुट्याएको बजेट खर्च हुन नसकेको अध्यक्ष गुरुङले बताए। कोरोनाका कारण अस्तव्यस्त जनजीवनलाई साबिकको अवस्थामा फर्काउन अझै समय लाग्ने देखिए पनि होमस्टे सञ्चालकले भने यही अवस्थामा पनि होमस्टे सञ्चालनका लागि छलफल थालेको छन्। अन्य व्यवसाय विस्तारै पुरानै लयमा फर्किरहेको अवस्थामा होमस्टे पनि सञ्चालन हुनुपर्ने होमस्टे सञ्चालक गुरुङको जोड छ। 

जिल्ला सदरमुकाम लिबाङ नजिकै रहेको गुरुङगाउँ सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकका साथै सदरमुकाममा हुने विभिन्नका कार्यक्रमहरुसमेत होमस्टेमा आयोजना हुदै आएका छन्। जसका कारण स्थानीयले रोजगार पाएका थिए। वनभोज, तालिम तथा संस्थाका सभाहरु हुँदा निकै चहलपहल देखिने होमस्टे अहिले भने सुनसान छ।

पर्यटन प्रवद्र्धनको बहुआयामिक क्षेत्र होमस्टेलाई पुनः सञ्चालन गर्नुपर्नेमा स्थानीयहरुको जोड छ।

प्रकाशित मिति: : 2021-03-10 16:24:00

प्रतिकृया दिनुहोस्