अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडा वासिङ्टन डीसी आइपुगेको एक महिना पुगेको छ। यो एक महिनामा उनले के गरे? घरदेश नेपालमा होस् या परदेश अमेरिकामा, पृथ्वीका दुबै गोलार्द्धका नेपालीमा चासो रहेको छ।
चासो अनेक कारणले भए पनि मूल चासो उनी जतिबेला र जुन हर्कत गरेर के के न गर्छु भनेर आए?, पृष्ठभूमिमा यिनै प्रश्नहरू रहेका छन्।
उनी आज जहाँ छन्, माले पृष्ठभूमिका विभिन्न नामका कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको वरद छायाँ पाएरै आइपुगेका हुन्। माधवकुमार नेपालको 'जी हजुरी'ले उनको वाम व्यक्तित्व बन्यो, खड्गप्रसाद शर्मा ओली शक्तिमा आएपछि त्यतैतिर ढल्कदा उनका लागि सांसद, मन्त्री, नेकपाको केन्द्रीय सदस्य, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार, राजदूतजस्ता पद रोजीछाडी फालिम लागे। त्यही क्रममा उनी जीवनको उत्तरार्द्धमा महामहिम भएर वासिङ्टन डीसी आइपुगेका छन्। उनको लागि यो एक किसिमको 'भ्याकेसन' नै भन्दा पनि फरक नपर्ला।
फेब्रुअरी ६ मा वासिङ्टन डीसी आइपुगेका उनले त्यसयता के के गरे भनेर दूतावासको वेभसाइट हेर्दा यस्तो सूची देखिन्छ-
१. फेब्रुअरी ६ मा राजदूत निवासमा उनकै सम्मानमा आयोजित स्वागत समारोहमा सरिक
२. फेब्रुअरी १९ मा राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा भिडियो शुभकामना सन्देश
३. फेब्रुअरी २० मा अमेरिकाको टेक्सास राज्यमा आएको हिउँआधीबाट प्रभावित नेपाली समुदायका लागि अपिल जारी
४. फेब्रुअरी २२ मा हुलाकबाट पठाएको आफ्नो ओहोदाको प्रमाणपत्र अमेरिकी राष्ट्रपतिले स्वीकार गरेको प्रेस विज्ञप्ती जारी ।
राजदूत डा. खतिवडाको पहिलो महिनाको कार्य विवरण हेर्दा उनी जीवनका उत्तरार्द्धमा सरकारी पैसामा 'भ्याकेसन मनाउन' आएजस्तो देखिन्छ। एक महिनामा उनले एउटा अपिल, दुईवटा विज्ञप्ती र एउटा भिडियो सन्देश जारी गरेछन्।
वासिङ्टन डीसी आइपुगेको एक महिनामा राजदूत डाक्टर खतिवडाले गरेको कामको फेहरिस्त यति नै हो। उनी राजदूत भएको नेपाली दूताबासमा फोन गर्दा उठ्दैन, इमेल गर्दा जवाफ आउँदैन, अमेरिकामा रहेको नेपाली डायस्पोराका अधिकांश मानिस यही भन्छन्।
दूताबासको वेभसाइट खोल्नेबित्तिकै एउटा रोड ब्रेकर आउँछ, इम्पोर्टेन्स नोटिस। कोभिड- १९ कन्सुलर नोटिस लेखिएको त्यसमा एउटा अंग्रेजी लिंक छ, अर्को नेपाली। दुबै लिंकमा जाँदा कन्सुलर कामका लागि झन्झटिलो व्यहोरा भेटिन्छ।अर्थात् त्यहाँ क्लिक गर्नेले समस्याको समाधान हैन, एउटा लम्मेतान प्रक्रियाको सुरूङमा पस्नुपर्ने हुन्छ।
COVID-19 Consular Notice
Click HERE for Nepali
Click HERE for English
विशेष प्राविधिक कारणले गर्दा हाललाई गैरआवासीय नेपाली परिचय पत्र जारी गर्ने कार्य अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ
It is Mandatory that Applicant Must Submit their Details before applying for any Consular Services provided by the Embassy. Detail Submission Form can be found in each page of Consular Services
हुन त यो रोड ब्रेकर राजदूत खतिवडाले उनका पूर्ववर्ती अर्का राजदूत डाक्टर अर्जुनकुमार कार्कीबाट विरासतमा पाएका हुन्। अर्को व्यवस्था नभए सम्मका लागि काम चलाउ कार्की गएर पक्कापक्की खतिवडा आउँदा पनि गर्जो टार्नेभन्दा पनि पन्छाउने खालकै रोड ब्रेकर यथावत छ।
योभन्दा पनि अर्को एउटा महत्वपूर्ण सूचना त्यही रोड ब्रेकरमा भेटिन्छ, ‘विशेष प्राविधिक कारणले गर्दा हाललाई गैरआवासीय नेपाली परिचयपत्र जारी गर्ने कार्य अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ।‘ यो सूचना पनि डाक्टर खतिवडाले उनका पूर्ववर्ती डाक्टर कार्कीबाटै विरासतमा पाएका हुन्। तर, आएको एक महिना भैसक्दा पनि खतिवडाले न त त्यो विशेष प्राविधिक कारण बताउन सके, न त त्यो हटाएर परिचयपत्र जारी नै गर्न सकेका छन्।
अमेरिकामा रहेका एक अगुवा नेपाली भन्छन्, ‘मुटुका रोगी छन् विचरा, राजदूत भएपछि अमेरिकामा नेपालकै सरकारी खर्चले उपचार गर्न पाइन्छ भनेर उता एमसीसीको घाँस हालेर आएका हुन्।चिसो स्वभावका उनीबाट न्यानो कामको आशा गर्नु नै बेकार हो।‘ अर्का एक नेपाली भन्छन्,‘राजदूत भएपछि केही थान आफ्ना मानिस अमेरिका ओसार्न पाइन्छ, त्यही चाजापाजो मिलाउदै होलान्। अरूले गर्दा पो मानव तस्करी हुन्छ, राजदूतले गर्दा त त्यस्तो पनि नहुने रहेछ।‘ उनले अगाडि भने, ‘यस अघिका राजदूत कार्कीले ६ जना यतै छोडेका छन्। यी डाक्टर खतिवडा पनि त्यही ड्याङका मुला त हुन्।‘
अर्का एक नेपाली भन्छन्, ‘उता भाग्यविधाता सम्माननीय खड्गप्रसादकै खड्को चलिरहेकाले कतिबेला उता जान्छन् र आफू पनि फर्कनु पर्ला भनेर यता चिन्तामा होलान् महामहिम खतिवडा। उतैका मिडिया भिजिट गर्न भ्याइ नभ्याइ होला।‘
यी त केही प्रतिनिधि प्रतिक्रिया हुन् अमेरिकाको नेपाली डायस्पोराका। जे भए पनि महामहिम खतिवडाको कार्यकाल एक महिना बितिसक्यो, यस बीचमा उनले चार थान सनातनी काम मात्र गर्न भ्याएका छन्। खर्च त आउँदा सपरिवार पाइने टीएडीए, पोशाक खर्च, गुण्टा खर्च आदि इत्यादिमा गरेर करोड उकालो नै लागि सकेको हुनुपर्छ।
आशा गरौं, आयाराम गयाराम बन्ने छैनन्, महामहिम डाक्टर खतिवडा। तर, उनको पष्ठभूमि, आचारविचार,चरित्र, कार्यशैली आदि बुझ्नेले भने भनिसके, खुट्टी हेर्दै पत्याएँ।