आतंकवादीको निशानामा भारतीय उद्योगपति अम्बानी 

Photo - Architecturaldigest.in
Photo - Architecturaldigest.in

भारतीय उद्योगपति तथा 'रिलायन्स् लिमिटेड'का अध्यक्ष मुकेश अम्बानीको घर लक्षित भेटिएको विस्फोटक पदार्थबारे मुम्बई प्रहरीले नयाँ–नयाँ तथ्यहरू फेला पारेको छ।

मुम्बईस्थित अम्बानीको घर बाहिर बिहिबार गाडीमा विस्फोटक पदार्थ भेटिएको मुम्बई अपराध शाखाले यसअघि नै बताइसकेको छ। आइतबार बान्द्रा नजिकै भेटिएको एक पत्रमा अम्बानीलाई धम्की समेत दिएको छ।

'मुकेश दाई र नीता भाउजू, यो त ट्रेलर हो। पूरै फिल्म बाँकी छ। हाम्रो तयारी पूरा भइसकेको छ', धम्कीपत्रमा लेखिएको नवभारत टाइम्सले जनाएको छ। पत्रमा टुटेफुटेको अंग्रेजी लेखिएको छ।

धम्कीपत्र नजिकै झोलासमेत भेटिएको छ। मुम्बई प्रहरीका अनुसार, विस्फोटक पदार्थ राख्ने समूह केही दिनअघिदेखि अम्बानीको पछि लागेको खुलासा गरेको छ।

धनाढ्य अम्बानीको घरबाहिर विस्फोटक पदार्थ भेटिएलगतै मुम्बईमा त्रास मच्चिएको छ। यस विषयको अनुसन्धान मुम्बई प्रहरीसँगै अपराध शाखाले पनि गरिरहेको छ।

विस्फोटक राखेको बारे एक आतंकवादी संगठनले सामाजिक सञ्जालमार्फत् यस कार्यको जिम्मेवारी लिएको छ। यद्यपि उक्त संगठनले गम्भीरता भने लिएको छैन।

साथै उक्त समूहको निगरानी र गम्भीर छानविन सुरु भएको अपराध शाखा प्रमुख मिलिन्द भारंबेले जनाए।

मुम्बई प्रहरी र अन्य एजेन्सीहरूले सबै पक्षलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेका छन्। महाराष्ट्र राज्य सरकारले अम्बानीको निवास वरिपरी र परिवारका सदस्यहरूको सुरक्षा बढाएको छ।

प्रकाशित मिति: : 2021-02-28 16:50:00

प्रतिकृया दिनुहोस्