बिहेमा साउण्ड सिस्टम बजाएर नाचगान गर्न नपाउँदा लुटपाट र आक्रमण

बेहुलीका बुबासहित चार जना घाइते

घाइते भएका घरमुली भगिमान लिम्बू उपचार गराउँदै

मोरङको केराबारी ७ नर्कटेस्थित एक बिहे घरमा हात हतियार सहित आएका स्थानीय युवाहरुको समुहले बेहुलीको बुबा सहित ४ जनालाई कुटपिट गरी सख्त घाइते बनाएका छन्।

बेहुलीको घरमा नुवाकोटबाट आयका जन्ती र आफन्तहरू बसी बिहे भोज खाई बसिरहेको बेला हात हतियार सहित आएका युवाको समुहले आक्रमण गरी लुटपाट गरेका हुन्। 

आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भगीमान, बेहुलीकी दिदी ३० वर्षीया सविना लिम्बू, केराबारी–९ बाट विहेखान आएका वेहुलीकी कान्छा मामा ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन्।

घाइते हरुको न्युरो हस्पिटल विराटनगरमा उपचार भई रहेको छ। आक्रमण पछि सो समुहले बिहे घरमा सघाउनी उठेको रकम २ लाख ३४ हजार ५सय ४० सहित बेहुलीको गर गहना सुन चाँदी सहित नगद तथा जिन्सी सामान लुटेर लागेका छन्। बिहे सकिएपछि बेहुलीले राखेको ठाउँबाट पाँच तोलाजति सुन र चाँदीका विभिन्न गहना तथा नगद लुटेर आक्रमणकारी फरार बनेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए  । उनका अनुसार छ लाखभन्दा बढीको लुटपाट भएको छ।

घाइते मध्ये बेहुलीका बुबा भगीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घरमुली समेत रहेका भगिमानको टाउकामा १३ ओटा टाका लगाइएको छ। साथै मामा भगतको फोक्सोमा पानी जमेको बताइएको छ। दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीको भनाइ छ। घरधनि भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच शनिबार बिहेको कार्यक्रम भइरहेको र समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको वडा नं  ७ का वडाध्यक्ष नारायण कुमार चेम्जोङले बताए।

अन्य घाइते दूइजनाको पनि टाउको, खुट्टा, हात, अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट रहेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।

घट्नाअनुसार मादक पदार्थ सेवन गरेर शुक्रबार राति १० बजेतिर केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको समुहले विवाद गरेको र बिहेमा साउण्ड सिस्टम बजाएर नाचगान गर्न पाउनुपर्ने माग राख्दै विवाद हुन थालेपछि उनीहरुलाई सम्झाईबुझाई गरेर घरतिर पठाइएको थियो। मुस्कान र निशान एउटै परिवारका दाजु-भाइ हुन्।

फेरि एक घण्टापछि त्यही समूह आएर होल्ला गर्न थाल्यो। वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूका अनुसार बिहे घरमा झैझगडा हुन लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय केराबारीको टोली पनि घटनास्थलमा आइपुग्यो। त्यसपछि होहल्ला गर्नेहरु फरार बने। निक्कै बेर खोजी गर्दा पनि त्यो समूहलाई फेला पार्न नसकेपछि र बिहे घर शान्त बनेपछि प्रहरी टोली फर्किएको थियो। तर त्यसको केही बेरमै शनिबार बिहान ३ बजेतिर आएर बिहे घरमा आक्रमण गर्दै त्यही समूहले आतंक मच्चाँएको प्रहरीले बताएको छ।

सुरुमा ढुंगामुडा गर्दै पुगेको समूहले घरेलु हतियार खुकुरी, भाला, रड, दाउरा लगायतले आक्रमण गर्न थालेको र बेहुला–बेहुलीसहित सबै जना सुतिसकेका बेला घर पछाडिबाट बरण्डामा चढेका उनीहरुले खुकुरीले हानेर घरको झ्याल र ढोका काट्दै सुतिसकेकालाई उठाएर आक्रमण सुरु गरेको एसपी सन्तोष खड्काले बताए।

हो-हल्ला गर्दै ढुंगामुडा हुन थालेपछि सुरुमा रोक्ने प्रयास गरियो।तर उनीहरुले सुतिरहेकाहरुलाई उठाउँदै खुकुरी प्रहार गरेर भालाले शरीरका विभिन्न भागमा रोप्न थालेपछि बिहे घरमा भागदौड मच्चिए पछि स्थानीय छिमेकीहरु आइपुगेको बताइएको छ।

आक्रमणकारी गाउँघरमा दादागिरी र गुण्डागर्दीमार्फत सर्वसाधारणमा आतंक खडा गर्ने समूह रहेको पाइएको एसपी खड्काले बताए। घटनापछि आक्रमणमा संलग्न फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी उनले दिए।

प्रकाशित मिति: : 2021-02-28 10:27:00

प्रतिकृया दिनुहोस्