ती ज्ञानेन्द्र, यी ज्ञानेन्द्र…, ती ओली, यी ओली

Break n Links
Break n Links

जेठ २९, २०६५ साल । साँझको समय थियो । नारायणहिटी दरबारको मुख्य हलको भ¥याङ अघिल्तिर राखिएको एउटा टेबुल टेलिभिजनका बुम र रेकर्डरले भरिएको थियो । टेबलपछिको रातो छिर्केमिर्के कुर्चीमा आएर बसे ज्ञानेन्द्र शाह ।

ज्ञानेन्द्र शाहले १४ मिनेट लामो लिखित मन्तव्य राखे । जब ‘जय नेपाल…धन्यवाद’ भन्दै उनले मन्तव्य टुङ्ग्याए, सञ्चारकर्मीहरूले प्रश्नको वर्षा नै गरे । ती सबै प्रश्नको जवाफमा उनले दुई शब्द मात्र दोहोर्याइरहे, ‘थ्याङ्क यु’ ।

साँझ रातमा बदलिँदै थियो, ज्ञानेन्द्र आफैँ गाडी हाँकेर नारायणहिटीबाट बाहिर निस्के, साथमा श्रीमती कोमल थिइन् । उनी हाँसी–हाँसी हात हल्लाउँदै बाहिरिए ।

यो दृश्य शाहवंश राजाहरूको मात्र हैन, नेपालको इतिहासले कोल्टे फेरेको एक दुर्लभ दृश्य थियो । तर गजबको कुरा उनको मुहारमा कुनै दुःख, पीडा, वियोग वा वैराग केही नै थिएन । एक किसिमको त्यागको अनुपम उदाहरण बनेको थियो त्यो दृश्य । धेरै मानिसहरूले भने पनि, ‘कत्रो ठूलो त्याग ।’

यो स्तम्भकार एक ‘ब्याक बेञ्चर’ पत्रकारका रूपमा त्यो दृश्यको फड्के किनारमा साक्षी बसेको थियो । पञ्चायती राजतन्त्रको चर्को दमनमा परेको मेरो लागि त्यो दृश्य आफ्नै अगाडि ठिङ्ग उभिँदा एक किसिमको गजबको अनुभव भइरहेको थियो । ठीक त्यही बेला, धेरै मानिस बसाइँ सर्दा दोहोरिने यो दृश्य देख्दा नमिठो पनि लागिरहेको थियो । लाग्यो, आखिर ज्ञानेन्द्र पनि पुर्खाको थातथलो छोडेर बसाइँ नै त हिँडिरहेका छन् ।

यही बेला अर्को मनले भन्यो, जस्तो मति, उस्तै गति । उनी यो दृश्यका हकदार हुन् । त्यतिबेला दिमाखको अर्को कुनामा वीरेन्द्रको वंशनाशमाथिको शंका पनि एकाएक नाचिरहेको थियो ।

त्यसयता लगभग १७ वर्ष भइसकेछ । आउँदो जेठ २९ गते ठ्याक्कै १७ पुगेर १८ वर्ष लाग्छ । ज्ञानेन्द्र शाह नारायणहिटी दरबारबाट बसाइँ सर्दै गर्दा जन्मेका नानी–बाबुहरू नै बालिग भरसके । उनीहरूले महाराजाका रूपमा ज्ञानेन्द्रको सक्कली रूप नै देख्न–भोग्न पाएनन् ।

यो पुस्ताले राजाको हैन,एमाले, कांग्रेस र माओवादीको शासन देखेको छ, खासगरी केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको । हुन त केही समयका लागि डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, सुशील कोइराला, खिलराज रेग्मीको शासन देखे । तर, त्यो समयक्रमसँगै विस्मृतिमा गइसक्यो । छोटो समयका लागि एक–एकपटकका शासक भएर पनि होला, उनीहरूविरूद्ध खासै जनआक्रोश पनि देखिँदैन । यसको अर्को कारण यो वा त्यो कारणले उनीहरू सत्ताको खेलबाट बाहिर भएर पनि होला ।

साँच्चै भन्ने हो भने पछिल्लो पुस्ताका लागि त नेपालको सत्ता भनेकै दोहोरिएर–तेहरिएर प्रधानमन्त्री भएका ओली, ‘प्रचण्ड’ र देउवाले खेल्ने म्युजिकल चियर जस्तै हो । लगभग आलोपालो जस्तै भइरहेको यो सत्ताको म्युजिकल चियर झुट, फरेब, धोका र बेइमानीले भरिएको छ । यो सबै देखेको नयाँ पुस्तालाई यिनीहरू नै नेपालका राजा हुन् भन्ने लाग्नु अस्वाभाविक हैन ।

यी तीन ‘राजाहरू’ले नेपाल यस्तो बनाए कि जहाँ राजनीतिक सिद्धान्त, मूल्य, मान्यता अपहरित मात्र हैन, बलात्कृत नै भएको छ । यिनीहरू सामु राजनीति सत्ताको बेइमान खेल हुन अभिसप्त छ । राजनीतिको अपराधीकरण हैन कि अपराधको राजनीतिकरण भएको छ । सुशासन, पारदर्शिता र विधिको शासन त मुखमा रामराम जस्तै हो, बगलीमा छुरा राखेर यिनीहरूले लुटतन्त्र नै मच्चाइरहेका छन् ।

प्राविधिक बहुमत बनाएर यिनीहरूले आआफ्ना दललाई लोभी–पापीका अखडा बनाए भन्दा पनि हुन्छ । अरू बेला ठूल–ठूला कुरा गर्ने जनता पनि चुनावका बेला यिनीहरूका लागि भेडो बने । दलका दोस्रो, तेस्रो पुस्ताका नेता–कार्यकर्ता भनाउँदाहरूले हैसियत त यिनीहरूका भेडी–गोठालाभन्दा पनि चुत्थो रह्यो ।

यो अति भयो । अति भएपछि हुने भनेको खती नै हो । अहिले नेपाल यही चरणमा गुज्रिरहेको छ । जनतामा तीव्र ध्रुवीकरण छ । जन्मँदै कांग्रेस, एमाले र माओवादी भएकामा अलि कम होला, बाँकीले बिस्तारै ओली–देउवा–प्रचण्डको नयाँ राजतन्त्रविरूद्ध विद्रोहको मानसिकता बनाएकै जस्तो देखिन्छ । कहिले स्वतन्त्रका नाममा त कहिले नयाँका नाममा, जे जे नाम दिए पनि एकपछि अर्को गरेर भइरहेका राजनीतिक प्रयोगहरू त्यसैका दशी–प्रमाण हुन् । अहिले राजावादीका नाममा सडकमा भइरहेको प्रदर्शन त्यसैको पछिल्लो श्रृंखला हो ।

२०६२/६३ को जनआन्दोलनमा देश दुई कित्तामा विभाजित थियो । एकातिर, राजावादीहरू सत्तामा थिए । अर्कोतिर, लोकतन्त्रवादीहरू सडकमा । सत्तामा हुनेहरूसँग डन्डा थियो, सडकमा हुनेहरूसँग आवाज । जोसँग जे थियो, त्यही प्रयोग गरे । डन्डा हुनेहरूले डन्डा बर्साए, प्रतिरोधमा आवाज हुनेहरू आवाज निकाले ।

दिन बित्दै गयो डन्डाको केही लागेन, आवाज अरू बुलन्द भयो । समयक्रममा लोकतन्त्रवादीहरू गणतन्त्रवादीमा अनुदित भए, राजावादीहरू श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवादीमा । प्रकारान्तरमा मौसूफको केही सिप लागेन । ज्यानको माया र धनको लोभले उनले नारायणहिटीबाट नागार्जुनतिरको बाटो रोजे ।

समय बित्दै जाँदा राजनीतिका मूलपात्रहरूको भूमिका परिवर्तन भयो । धेरैजसो गणतन्त्रवादीहरू नयाँ राजा ओली–देउवा–प्रचण्डवादीमा परिणत भए । उनीहरू सत्तामा पुगे, हातमा डन्डा आयो । उता, ज्ञानेन्द्र भने राजाबाट रैती भए । उनका पृष्ठपोषकहरू सडकमा ओर्लेर ‘राजा आऊ देश बचाऊ’ भन्नुपर्ने स्थितिमा धकेलिए ।

समयको कस्तो विडम्बनापूर्ण मजाक । ओली–देउवा–प्रचण्ड यथास्थितिवादी सत्ताधारी नेता, ज्ञानेन्द्र परिवर्तनकारी नेता । २०६२/६३को आन्दोलनको समयमा शाही गृहमन्त्री कमल थापा आन्दोलनकारीमाथि डन्डा बर्साउन प्रहरीलाई आदेश दिँदै थिए, अहिले उनै थापा त्यही नेपाल प्रहरीकै डन्डा खाइरहेका छन् । कसैलाई प्रिय लागे पनि नलागे पनि, फेरि एकपटक राजावादी र गणतन्त्रवादी आमनेसामने भएको स्थिति हो यो ।

नेपालमा राजतन्त्र फर्कने सम्भावना देखिँदैन । तर, पछिल्लो स्थिति हेर्दा पुरापुर असम्भव नै छ भन्ने स्थिति पनि छैन । केही समययता खासगरी नयाँ कांग्रेस राजा देउवाको समर्थनमा एमाले राजा ओलीले प्रधानमन्त्रीका रूपमा जे जस्ता हरकत देखाइरहेका छन्, ती सबैलाई नजिकबाट हेर्दा ज्ञानेन्द्र वा अरू कसैका कारणले भन्दा पनि ओली–देउवाकै कारण नेपालमा राजतन्त्र नफर्केला भन्न सकिन्न । गणतन्त्रका तेस्रो माओवादी राजा प्रचण्ड भने यतिबेला ‘खाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छो बाबुको अनुहार’को अवस्थामा छन् ।

नेपाली जनता कम्तीमा ओली–देउवा–प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहँदैनन् । त्यसमा पनि यी तीन नयाँ राजाहरूको मात्र शासन देखेको÷भोगेको नयाँ पुस्ता त यिनीहरूको अनुहार नै हेर्न चाहँदैन । यो पुस्तालाई यिनीहरू हटेपछि को आउँछ, त्योसँग मतलब छैन । उनीहरूको एकसूत्रीय चाहना भनेकै ओली–देउवा–प्रचण्ड हटाउनु हो । त्यसका लागि उनीहरू जे गर्न पनि तयार भएजस्तो देखिन्छ ।

अहिलेको समयको माग भनेको आआफ्नो दलको नेतृत्वबाट नयाँ तीन राजाहरूको बिदाइ नै हो । यसका लागि सबैभन्दा राम्रो त समयको पदचाप सुनेर ती नयाँ राजाहरूले स्व–बिदाइ लिनु हो । तर, सत्ताभोकले ग्रस्त यी नयाँ राजाहरूले त्यसो गर्लान् भनेर कल्पना पनि गर्न सकिन्न । त्यसपछिको विकल्प भनेको सम्बन्धित दलहरूले वैधानिक रूपमै उनीहरूलाई बिदा गर्नु हो । त्यसको सम्भावना पनि झिनो छ । यी तीन दलका दोस्रो तह र पुस्ताका नेता पनि सत्ताका लोभी–पापी भइसके । उनीहरूले दलको मूलनेतृत्वविरूद्ध त्यस्तो विद्रोह गर्लान् भनेर आशा गर्ने ठाउँ छैन ।

यस्तो अवस्थामा हुने भनेको खती नै हो । त्यो खतिमा पुनरूत्थानवादीहरू जाग्न पनि सक्छन् । विश्वको राजनीतिक इतिहास पल्टाएर हेर्दा यस्ता एक हैन, अनेक दृष्टान्त भेटिन्छन् । नेपालमा पनि त्यस्तो दृष्टान्त नमिल्ला भन्न सकिन्न । हो, नमिलोस् भन्ने प्रिय कामना चाहिँ गर्न सकिन्छ । तर, सबै प्रिय कामनाहरू पूरा हुँदैनन् । यो प्रिय कामना पनि पूरा नहोला जस्तो छ ।

‘भुक्ने नेता र भन्नुभयो मिडिया’ पनि नेपालको गणतन्त्रको लागि ऐजेरू समस्या भएका छन् । नेताहरू जिब्रोमा लगाम नलगाई जे पायो त्यही बोलिरहेका छन् । अनि, मिडियाहरू तिनै भनाइलाई भंगेरे अक्षरका शीर्षक बनाएर भाइरल भइरहेका छन् । यसबाट नेपालमा जबरजस्त रूपमा भ्रम र गलत सूचनाको खेती भइरहेको छ । यस्तो खेतीमा देशको समृद्धि र जनताको सुख खोज्नु ल्हासा जानु कुतीको बाटो जस्तै हो ।

केपी ओली नेपालका लागि कुनै पनि कोणबाट समाधान हैनन्, समस्या हुन् । अब त ओली पात्र मात्र रहेनन्, प्रवृत्ति नै भइसके । ओलीले आफ्नो बोलीमा लगाम नलगाएर आफ्ना लागि त समस्या बढाएकै छन्, जहाँ जहाँ छन्, त्यहाँ त्यहाँ पनि समस्या बढाएकै छन् । उनी एमाले अध्यक्ष हुन्, उनका कारण दलमा समस्यामा छ, अहिले सरकार प्रमुख छन्, सरकारमा समस्या छ । सरकार संयुक्त छ, ती दलहरूमा पनि समस्या छ ।

ओली हरेक दिन घोचपेच र गालीगलौज गरेर राजावादी आन्दोलनको आगोमा घ्यू थप्ने काम गरिरहेका छन् । यसो गर्दा उनी आफू देश र सारा जनताको प्रधानमन्त्री भएको तथ्य पनि बिर्सन्छन् । केही दिनअघि उनले जेठ १५ गते राजधानी नै एमालेको कब्जामा राख्न कार्यकर्तालाई आदेश दिए । जबकि राजावादीहरूले त्यही दिन प्रदर्शन गर्ने भनेर धेरै पहिले घोषणा गरेका थिए । ओलीको त्यो आदेश परोक्षरूपमा राजावादीमाथि जाई लाग्नु भन्नै नै हो । यसो भनेर उनले सरकार, आफ्नो दल र सत्ता सहयात्रीलाई रक्षात्मक स्थितिमा पुर्याए ।

ओली आफू गणतन्त्रका लागि राजतन्त्रविरूद्ध आन्दोलन गरेको दाबी गर्छन् । त्यसक्रममा १४ वर्ष लामो समयसम्म जेल बसेको दाबी त गर्ने नै भए । तर, त्यसो भनिरहँदा उनी आन्दोलन गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो भन्ने नै बिर्सिरहेका हुन्छन् । सत्य के हो भने जसरी राजतन्त्रविरूद्ध ओलीले आन्दोलन गर्न पाउनुपथ्र्यो, त्यसैगरी गणतन्त्रविरूद्ध राजावादीहरूले पनि आन्दोलन गर्न पाउनुपर्छ । 

सरकार प्रमुखका रूपमा ओलीको कर्तव्य आन्दोलन शान्तिपूर्ण होस् भनेर सम्बन्धित पक्षलाई आह्वान गर्ने र त्यस क्रममा हुने सम्भावित धनजनको क्षति रोक्ने हो । तर, ओलीलाई त्यो राजकीय जिम्मेवारीको पटक्कै हेक्का छैन । उनको सोच त राजावादीले गणतन्त्रविरूद्ध आन्दोलन नै गर्न पाउनुहुन्न भन्ने छ । यो सोच त बहुदलवादीले पञ्चायतविरूद्ध आन्दोलन गर्न पाउनुहुन्न भन्ने राजा वा महापञ्चहरूको जस्तै हो ।

वास्तवमा यो पूर्णतः निरंकुशतावादी सोच हो । लोकतन्त्रमा विश्वास गर्ने जोकोहीले पनि यस्तो निरंकुशतावादी सोचको निन्दा गर्नुपर्छ । लोकतन्त्र भनेकै विधिको शासन हो । देशको विधि संविधानले तय गर्छ । नेपालको संविधानले शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकार सुनिश्चित गरेको छ । त्यो अधिकार खड्गप्रसादका लागि जति हो, कमल थापाका लागि पनि त्यति नै हो ।

बिट मार्नुअघि, यो स्तम्भकारलाई कांग्रेस नेता डा. शेखर कोइराला पो ठीक हुन् कि जस्तो लाग्न थालेको छ । पछिल्लो समय उनले जे जस्ता अभिव्यक्ति दिइरहेका छन्, गणतन्त्र नेपालका हरेक नेतामा त्यतिमात्र नैतिकता हुने हो भने गणतन्त्रको सुरक्षालाई लिएर कसैले चिन्तै गर्न पर्दैन ।

राजावादी आन्दोलनको रमाइलो दृश्यचाहिँ कमल थापालाई झ्याल्टुङ पार्दाको हो । २०६२/६३ मा कैयौँ आन्दोलनकारीलाई झ्याल्टुङ पार्ने तत्कालीन शाही गृहमन्त्री थापाको यो हरिबिजोग दृश्यले सबैको राम्रो/नराम्रो दिन आउँछ, पर्खनुमात्र पर्छ भनेको ठिकै रहेछ भन्ने दृष्टान्त मिल्छ । अझ गजबको कुरा त गत आमचुनावमा ओलीको हस्ताक्षरबाट सूर्य चिह्नमा सांसद उम्मेदवार भएका थापा ओलीकै आदेशबाट झ्याल्टुङकुटी भए ।

बुबा भन्नुहुन्थ्यो, ‘काइँला बाँच्नुमात्र पर्छ । बाँचे अनेक देख्न पाइन्छ ।’ यतिबेला बुबा त हुनुहुन्थ्यो तर यो काइँलो भने बाँचेको छ र अनेक देखिरहेको छ ।

प्रकाशित मिति: : 2025-06-06 01:46:00

प्रतिकृया दिनुहोस्