मुम्बईमा प्रहरीलाई पनि ‘वर्क फ्रम होम’को लागि अनुमति

Mint

भारतको मुम्बईमा प्रहरीलाई पनि ‘वर्क फ्रम होम’को लागि अनुमति दिइएको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने ‘सी’ र ‘डी’ वर्गका प्रहरीको संख्या ५० प्रतिशतमा झारिएको छ।

जसमध्ये २५ प्रतिशतलाई बिहान ९ देखि दिउँसो ४ बजेसम्म र बाँकी २५ प्रतिशतलाई बिहान ११ देखि दिउँसो ५ बजेसम्मका लागि बोलाइनेछ। यद्यपि ‘ए’ र ‘बी’ वर्गका प्रहरी भने शतप्रतिशत उपस्थित हुनुपर्नेछ।

अन्य घरबाटै काम गर्ने प्रहरीहरुलाई भने जुनसुकै समयमा पनि आवश्यक परेको अवस्थामा फोनबाट काममा बोलाउन सकिने बताइएको छ।

यसअघि मंगलबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोना संक्रमण बढेको भन्दै धेरै मानिसहरुलाई घरबाटै काम गर्न आग्रह गरेका थिए।

उनले सार्वजनिक कार्यक्रम र मन्दिरमा भेला नहुन आग्रह गरेका थिए। यसरी भेला भए कारवाही पनि गरिने उनले चेतावनी दिएका थिए।

पछिल्लो समय उल्लेख्य संख्यामा संक्रमण बढेको भन्दै महाराष्ट्रको औरंगाबादमा राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।

प्रकाशित मिति: : 2021-02-24 12:42:00

प्रतिकृया दिनुहोस्