आँखा रसाउने उत्सर्ग

लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी सानु शर्मा नेपाली साहित्य जगतकी उदयीमान साहित्कार हुन्। उनको ‘उत्सर्ग’ नामक उपन्यास भर्खरै बजारमा आएको छ। यो भन्दा अगाडि उनको ‘जितको परिभाषा’, ‘अर्धविराम’, ‘अर्थ’, ‘विप्लवी’ जस्ता उपन्यास आईसकेका छन्। उनको कथासंग्रह ‘एकादेशमा’ ले निकै चर्चा कमाउनुको साथै मदन पुरस्कारको सुचिमा पनि परेको थियो। 

भर्खरै प्रकाशित उनको नयाँ उपन्यास ‘उत्सर्ग’ मैले पनि पढ्ने सौभाग्य प्राप्त गरें। उत्सर्ग भित्र धेरैकुरा समावेश छन्। प्रेम, बालमनोविज्ञान, मित्रता जस्ता विषयमा केन्द्रित रहेर लेखिएको सो उपन्यासले पाठकको मन सजिलै जित्न सक्छ।

उपन्यासकी मूख्य पात्र आर्या शर्माको बाल्यकाल बुवाआमाको अभावमा बित्छ। अनिरुद्ध गौतम र आशा गौतमको विवाहको ८ बर्षपछि जन्मिन्छिन् आर्या। आफ्नो कामको सिलसिलामा विदेश धेरै गईरहनुपर्ने भएर अनिरुद्ध गौतमले आफ्नो साथी गहेन्द्रमान सिंहको संरक्षणमा आर्यालाई छोडिदिन्छन्। सानै उमेरदेखि एक्लै बस्ने आर्यालाई बानी पर्छ। 

उनी एकदिन पेट दुखेपछि स्कूलबाट छट्पटाउँदै छिट्टै घर आउँछिन्। राती एक बजे बिउँझिदा उनको ओच्छ्यान रगताम्य हुन्छ त्यो देखेर उनी निकै कराउँछिन् अनि रुन्छिन्। उनी राएको सुनेर गहेन्द्रमान सिंहका छोरा गौरव सिंहले झ्यालबाट आर्याको खबर सोध्छन्। आर्याको कुरा सुनेर बुझिसकेपछि गौरवले आफैं आर्यालाई स्यानिटरी प्याड किनेर ल्याएर दिन्छन् र चाउचाउ पनि पकाएर खान दिन्छन्। यसरी त्यहीदिनबाट गौरव र आर्याको मित्रता सुरु हुन्छ। गौरवले सबै कुरा आर्यासंग शेयर गर्छन्। दुबैजाना निकै घनिष्ट मित्र  हुन्छन्। 

गौरवको प्रेमिका सारा हुन्छिन्। सारासंग आफूले गरेका हरेक कुराहरु गौरवले आर्यालाई सुनाउँछन्। समय बित्दै गएपछि सारा अस्ट्रेलिया पुग्छिन् र दुईजानाको सम्बन्ध धम्मिलिदैं जान्छ। उता साराले म्यासेज गर्न छोडेपछि बिस्तारै गौरवले सारालाई बिर्सेर आर्यालाई मन पराउन थाल्छन्। गौरवको एकोहोरो प्रेम देखेर हैरान हुन्छिन् आर्या। तर केही समयपछि उनी आफैं गौरवको प्रेममा पर्छिन््। गौरवको लापरवाहीको कारण उनको परिवारले उनलाई खासै चासो दिन छोडन्छन्। गौरवको आमा कडा स्वभावकी हुन्छिन्। गौरवले आर्यालाई मनपराउने कुरा थाहा पाएर उनले आर्याको बुवाआमालाई खबर गर्छिन्। आर्याको बुवा अनिरुद्ध गौतम र आमा आशा गौतम तुरुन्तै सबैथोक छोडेर आईपुग्छन्। आर्यालाई कडाई गर्दै आशाको दैनिकी बित्छ। आर्या गौरवलाई अस्ट्रेलिया गएर पढ्न प्रेरित गछिन् र आफूले खर्च केही खर्च समेत बेर्होछिन्। गौरव अस्ट्रेलिया गएपछि आर्याको हरेक दिन र रात गौरवकै यादमा तड्पेर बित्छन्। 

एकदिन जब आर्या कलेजबाट घर फर्किन्छिन तब घरमा धेरै मानिसहरुको भेला भएको देख्छिन्। अनि उनलाई थाहा हुन्छ कि उनको बुवा र आमाले उनको विवाहको कुरा आदित्य नाम गरेको युवकसंग चलाउन खोजिरहेका हुन्छन्। आदित्यका ड्याडी अभिराज अमेरिकाको कहलिएका अधिवक्ता हुन्छन्। तर आर्याको मनले सधैं गौरवलाई खोजी रहन्छ। गौरव अस्ट्रेलिया गएको केही बर्षमा आर्या पनि अस्ट्रेलिया पुग्छिन्। अस्ट्रेलिया पुगेको दिन गौरवको हातमा बियरको बोतल र गौरव बस्ने अर्पाटमेन्टमा टन्न साथीहरुको जमघट देखेपछि आर्याको मन क्षतविक्षत हुन्छ। यद्यपी उनले सम्बन्ध सुमधुर बनाएर गौरवसंग जीवन बिताउने निर्णय गर्छिन्। तर अस्ट्रेलियामा गौरव र आर्याबिच निकै उतारचढाव आउँछ र फलस्वरुप गौरवले आर्यालाई खबर नै नगरी नेपाल पुगेर अर्को विवाह गर्छन्। अन्त्यमा आर्याको विवाह नेपालमा आदित्यसंग हुन्छ र उनीहरु फेरि संगै अस्ट्रेलिया जान्छन्। त्यहाँ धेरैबर्षपछि गौरव पुलिस केशमा पर्छन् र उनको बील आदित्यले गर्छन्।

यी त कथाका केही अंश मात्रै हुन्। उपन्यासमा त्यस्ता थुप्रै घटनाहरु छन् जसले पाठकलाई साच्चै नै भावविह्वल बनाउँछ। यो उपन्यासले एकातिर नारीहरु पुरुषलाई कुन हदसम्म माया गर्न सक्छन् भन्ने कुरा देखाएको छ भने अर्काेतिर सबै पुरुष खराब मात्रै हुदैंनन् भन्ने पनि देखाएको छ। कथाका अन्य पात्र प्रिया, कृष्णा, गौतमले उपन्यासमा मिठास भरिदिएका छन्। सानु शर्माको अन्य उपन्यासले जस्तै उत्सर्गले पनि पाठकको आँखा रसाउने कुरामा म विश्वस्त छु। 

प्रकाशित मिति: : 2021-02-24 08:09:00

प्रतिकृया दिनुहोस्