शंकर तिवारी
क्रान्तिका कुरा गर्नसाथ हामी २००७ सालमै पुग्ने गर्छौं। २००७ सालको त्यो क्रान्ति विश्व इतिहाससँग तुलना गर्दा फ्रेन्च रिभोलुसन, अमेरिकी रिभोलुसन र रुसको अक्टोबर क्रान्तिसँग समानान्तर हुन आउँछ। यस अर्थमा २००७ साल आधुनिक नेपालको आदि क्रान्ति हो।
मध्ययुगीन दासताबाट एकैपटक प्रजातन्त्रतर्फ पाइला चाल्ने क्रममा ‘वेष्टफेरिया ट्रिटी’ भएर युरोपमा राष्ट्र–राज्य (नेशन स्टेट) को अवधारणा सुरु हुँदै गर्दा पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर त्यो दिशामा बदल्ने कोशिस गरेका थिए। दिब्योपदेश त्यसको साक्ष्य प्रमाण छ। तर, पृथ्वीनारायण शाहका उत्तराधिकारीहरु लायक र काबिल नहुँदा शाह परिवारले वंश परम्पराको पनि निकृष्ट स्वरुप ‘भाईबाट भाईमा’ सत्ता हस्तान्तरण हुने परम्परासामु आत्मसमर्पण गर्नुपर्यो।
राजा (श्री ५) मा रहेको राजकीय अधिकार रुपमा राजासँग रहे पनि सारमा भने राणाहरुमा हस्तान्तरण भयो। विक्रम संवत् १९०३ देखि २००७ सालसम्मको एक शताब्दीभन्दा लामो समय मुलुक पूरै परम्परागत तानाशाही बन्द व्यवस्थामा जकडिन पुग्यो। जनचेतनाका माध्यमबाट हेर्दा त्यो घोर मध्ययुगीन सामन्ती दासताको युग थियो।