डा. मृगेन्द्रबहादुर कार्की
नेपालमा विकासको मौलिक मोडेल निर्माण हुन सकेन। संविधान नै कस्तो बनाउने भनेर तत्कालीन संविधानसभाका सदस्यहरू भारत, युरोप, अमेरिका र अफ्रिका पुगे। स्वर्गीय डा. सौभाग्य शाहलाई उद्धृत गर्दा हलो जलाउने र ट्र्याक्टर नबनाउने विकास मोडेल भयो हाम्रो। यो अस्तव्यस्तता हो। हरेक मुलुकको माटो पनि सामाजिक हुन्छ। माटोको सामाजिकपन नहेरी विकासको बहस गर्दा मौलिकता प्राप्त गर्न सकिँदैन। नेपालको अहिलेको शिक्षा मौलिक नभएकैले विकासको मोडेल पनि मौलिक हुन नसकेको हो। नेपालका भूभाग बुझिने हिज्जे नै बेलायतीले तयार पारिदिएका छन् र हामीले त्यही स्वीकारेका छौँ। आफूलाई को हौँ भन्न नसक्ने प्राज्ञिक वर्ग, कर्मचारीतन्त्र र राजनीतिकर्मी यसमा जिम्मेवार छन्।
नेपालको विकास छिमेकी मुलुकको विकाससँग जोडिएको छ। सन् १९५२-५४ को जनगणना केलाउँदा ६५ प्रतिशत जनसंख्या पहाड र हिमालमा देखिन्छ। सन् २०११ को जनगणनासम्म आइपुग्दा तराई, मधेशमा ५० दशमलव ३० प्रतिशत जनसंख्या देखिन्छ। कारण- विकास तराई, मधेश र सहर केन्द्रित भयो। विद्यालय, कलेज, अस्पताल, सडकलगायत पूर्वाधार तराई क्षेत्रमा केन्द्रित भए। विकासको मोडेलमा पहाड र हिमाललाई हामीले जोडेनौँ।