निर्वाचन आयोगमाथि शंका गर्ने देउवालाई प्रवक्ताको जवाफ- आयोगका कारण निर्वाचन रोकिँदैन

देखापढी

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको भनिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बुटवलमा पुगेर ‘निर्वाचन आयोगले किन निर्वाचनको कार्यक्रम सार्वजनिक गर्दैन?’ भनी  प्रश्न गरे।

यतिमात्रै होइन, निर्वाचन कार्यक्रम सार्वजनिक नगर्ने आयोगप्रति शंका गर्नुपर्ने उनले बताए।

देउवाले निर्वाचन कार्यक्रम सार्वजनिक नगरेको र सार्वजनिक गर्न ढिला गर्नुलाई शंकाको दृष्टिले हेर्नुपर्छ भन्‍नु कांग्रेस निर्वाचनमा जानुपर्छ भन्‍ने मतमा उनी प्रस्ट रहेको बुझिन्छ। र, प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन आवश्यक छैन भन्‍नेमा पनि उनी प्रस्ट रहेको फेरि पुष्टि भएको छ।

यसरी देउवाले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेपछि आयोगका प्रवक्ता राजकुमार श्रेष्ठलाई सोधियो- आयोगले निर्वाचनको कार्यक्रम किन सार्वजनिक नगरेको?

प्रवक्ता श्रेष्ठले आयोग निर्वाचनको तयारीमै व्यस्त रहेको बताए। त्यसअन्तर्गत मतदाता नामावली अद्यावधिक (दाबी विरोधसहित) भएको, मतदान केन्द्र पुनरवलोकनको काम भइरहेको र ‘प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता-२०७७’ स्वीकृत हुने प्रक्रियामा रहेको बताए। निर्वाचन सामग्री तयारीका कामहरू पनि भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

सरकारले निर्वाचन घोषणा गरेको भने दुई महिना भोलि पुग्दै छ। आयोग जहिले निर्वाचनको तयारीमै रहनुपर्ने हुन्छ। तर, आयोगले कामलाई सुस्त ढंगले गरिरहेको देखिएको छ, जसले गर्दा आयोगले तयारीमा गरेको ढिलासुस्तीले कतै निर्वाचन निर्धारित मितिबाट पर सर्दैन? भन्‍ने शंका उब्जिएको छ।

प्रकाशित मिति: : 2021-02-17 19:43:00

प्रतिकृया दिनुहोस्