४० वर्ष पुरानो घटनाको बदला लिन भागरथीको हत्या

शिलापत्र

काठमाडाै‌ं

मनबहादुर बस्नेत

भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले चार दशक पुरानो पारिवारिक रिसइवीको प्रतिशोध लिएको हुन सक्ने देखिएको छ । 

प्रहरी बयानमा दिनेशले आफ्नो आफन्तलाई भागरथीका बुबा कृष्णानन्द भट्टले बलात्कार गरेकाले त्यसकै बदला लिन भागरथीको हत्या गरेको स्वीकारेका छन् । दिनेशले भागरथीलाई बलात्कार गरेको भने स्वीकारेका छैनन् । 

किशाेरकाे बदलावभाव पहिल्याउन भने चार दशकअघि फर्कनुपर्ने हुन्छ ।

भागरथीका बुबा कृष्णानन्दले अनैतिक सम्बन्ध राखेर दिनेशकी एक नातेदार गर्भवती बनेकाे शिलापत्रले सम्पर्क गरेका आधा दर्जन स्थानीयबासीले दाबी गरे । घटना २०४० सालतिरको भएको बैतडी दोगडाकेदार गाउँपालिका-७ का वडासदस्य महादेव भट्टले लख काटे । ‘घटनाचाहिँ भएको हो । ठ्याक्कै तिथिमिति याद छैन,’ उनले शिलापत्रसँग टेलिफोनमा भने, ‘हामी सानै थियाैँ ।’ 

भागरथीका बुबा कृष्णानन्दबाट दिनेशकी आफन्तको पेटमा गर्भ रहेपछि कृष्णानन्द गाउँ छोडेर भारत भागेका थिए । भारतको हिमाञ्चल प्रदेशमा ४ वर्ष काम गरेर फर्किएपछि कृष्णानन्दलाई प्रहरीले पक्राउ गरेको महादेव बताउँछन् । आफू त्यतिबेला १०-११ वर्षको भएको उनी सम्झन्छन् । 

कृष्णानन्द बैतडी कारागारमा छ महिना सजाय भोगेको आफूले सुनेको स्थानीय भूमिराज माविका प्रधानाध्यापक प्रजापति भट्ट बताउँछन् । ‘धेरैअगाडिको कुरा हो । अब त बिर्सिसक्यौँ,’ उनी भन्छन् । जबर्जस्ती करणी मुद्दामा पक्राउ परेर जेल बसेको भन्ने आफूले थाहा पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: : 2021-02-17 19:29:00

प्रतिकृया दिनुहोस्