फागुन १ को सन्देश : सत्य बोल्ने साहस गरौं

बिष्णु धिताल

काठमाडाै‌ं

मलाई राजनीतिक आन्दोलनले सिकाएको कुरा हो, सत्य बोल्न डराउनु हुन्न। मैले जानेको हरेक कुरा तथ्यबाट प्रमाणित सत्य हो भन्ने मेरो दाबी होइन। आफूलाई सत्य लागेको कुरा तथ्यबाट प्रमाणित होस् भनेर म दृढतापूर्वक राख्ने गर्छु। शैली र भाव फरक होला तर मेरो उद्धेश्य सत्य स्थापित गर्नु हो। 

नेपालमा २०५२ देखि २०६२ सम्म भएको १० बर्षे माओवादी जनयुद्ध जनयुद्ध आधुनिक नेपाली राजनितिक इतिहासको महान र युगान्तकारी परिघटना थियो। त्यसका नायक- प्रचण्ड हुन्। सहनायकहरु किरण, बाबुराम, दिवाकर र बादल हुन्। 

नेपाली जनयुद्दलाई महाभारत मान्ने हो भने यी पाँच पात्र कुनैबेला पाँच पाण्डव भनेर चिनिन्थे। हामी जनता र योद्दाहरु क्रान्तिका जग र किला काटा थियौ। यी नायकहरु, हामी योद्दा र किलाकाटाहरु एक्कै जगमा उभिदा देशले राजनितिक इतिहासमा कोल्टे फेरेको तथ्य प्रमाणित सत्य हो। 

यो सत्यलाई खन्डित गर्न मुस्किल थियो। कमरेड दिवाकरको निधन भइसकेको छ। बाँकी चार नेता अहिले चारतिर फर्केका छन् र जनता तथा कार्यकर्ताको भाग बिलो गरेका छन्।  अहिले यी नै चार नेता काफी छन् जनयुद्दले निर्माण गरेको नेपाली जनताको आस्थाको साझा मन्जील भत्काउन। यो पनि तथ्यबाट प्रमाणित सत्य भइसक्यो। के यो सत्य बोल्न पनि म डराउँ? बिडम्वनाकासाथ भन्नुपर्दा शान्ति प्रकृयापछि आजसम्म सबै नेताले आफ्नो ओज बचाउन सक्नुभएन। हामीले कल्पना र गौरव गरेको राजनेता बन्ने अवसरबाट दिन प्रतिदिन सबै खलनायक बन्दै हुनुहुन्छ।पुष्पकमल दाहाल कमरेड प्रचन्डका स्वर्गीय छोरा प्रकाश दाहाल मन मिल्ने मान्छे थिए, साथी पनि। तत्कालिन माओवादी नेता बावुराम भट्टराई र दिनानाथ शर्माका छोराछोरीहरु दिल्लीमा पढ्दा म क्रान्तिका लागि उहाँहरुका भाडा माझ्दै थिए र प्रकाश दाहाल बाबुको झोला र बन्दुक बोकेर डाँडापाखामा डुल्दै जनताबीचमा थिए। उनीप्रति मेरो बिशेष सम्झना र सम्मान रहिरहनेछ।

छोरी–बुहारीले अवसर पाए भन्ने बिषयमा म बोल्दिन। उनीहरुको क्रान्तिमा योगदान थियो। कायरहरुले मात्रै महिलाले अवसर पाए भनेर आलोचना गर्छन् भन्ने मेरो बुझाई छ। उनीहरुलाई अवसर दिएर ठिक बेठिक के भयो, त्यो जनतामा प्रमाणित भएर आएपछि बहस आवश्यक छैन। अब जनताको सेवा कति र कसरी गर्ने, त्यो उनीहरुको क्षमताको कुरा हो।

उनीहरुलाई मेरो यति मात्रै भनाइ छ– तपाईहरुको परिवारको सुन्दर बर्तमानका लागि मेरो श्रीमतीले आफ्नी आमा, दिदी र मामा गुमाएकी छिन्। समय मिले सहिद परिवारलाई पनि सम्झिनु होला। तपाईका बाबाको यो बिरासत र उचाई हाम्रै परिवारका सदस्यको बलिदानले ठडिएको जग हो। 
तर क्रान्ति नायक प्रचन्डसँग नाता जोड्दैमा कांग्रेसी ज्वाईहरु उपराष्ट्रपतिका सल्लाहकार बनाउनुप्रति मेरो घोर बिरोध छ। रगतको नाता छ भन्दैमा कांग्रेसी पृष्ठभूमिका भतिजालाई राजदुत बनाउनुमा पनि मेरो बिरोध छ। बिराटनगरमा वडा सदस्यको हैसियत नभएका ज्वाईलाई निर्वाचनको टिकट दिलाएको प्रति पनि मेरो बिरोध छ। कि हामीलाई बुझाउन सक्नुपर्यो– क्रान्तिमा यिनको भुमिका थियो भनेर वा क्रान्तिबाट आएका कोही पनि यीभन्दा योग्य थिएनन् भनेर।

करोडौ जनताको अपार माया र समर्थनबाट धनी बनेका प्रचन्डले अर्बौ धनका धनी अजेय सुमार्गी हरुसँगको अपारदर्शी सम्वन्ध राख्नुमा मेरो बिरोध छ। काठमाडौ छिर्ने बित्तिकै रातो कार्पेट बिछ्याए र मिठो मसिनो ख्वाए भन्दैमा पञ्चायती अञ्चलाधीश सुर्यबहादुर सेन ओली र बिबादास्पद छवीका लार्केल लामालाई सभासद् र मन्त्री बनाउनुमा मेरो बिरोध छ।

यस्तै कुरामा कहिले सहयात्री त कहिले प्रतिस्पर्धी बनेर बाबुराम भट्टराई  पनि मैदानमा खरो उत्रिए। आखिर यी र यस्तै कुराले त तपाईको उचाई रसातलमा भाँसियो। तपाईहरु राजनेता बन्ने अभियानबाट आफै भाग्नु भो। अब नेपाली जनताको आस्थाको त्यो उचाई हासिल गर्न असम्भव प्राय: भइसकेको छ।

शहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङलाई उनीहरुको क्षमता र मनोबल बढाउदै राज्य सञ्चालनका अवसर नदिनुमा बिरोध छ। यो जनताले ‘दिनको घाममा छर्लङ देखि सके’ कि शान्ति प्रकृयापछि नेताहरुमा नाताबाद र कृपाबाद हावी भयो। यो एक प्रकारले हरेक नेताको संस्कृति बन्न गयो। मेरो यसमा पनि बिरोध छ।

पुष्पकमल दाहाल क. प्रचण्ड,  उनका सहयोद्दा नेता तथा उनीहरुसँग नातागोता जोडिएकाहरुको सुन्दर बर्तमान र सुनौलो भविश्य बनाउन म जस्तै कार्यकर्ता र हाम्रो परिवारको सुन्दर समय, पसिना र रगत बगेको छ ।



‘जनयुद्ध’ को त्यो पहिलो फौजी कारबाही

यसकारण अनावश्यक थियो माओवादी हिंसा



साहस र  जागर छ भने मेरो यो आलोचना गलत साबित गरिदिए म जति खुसी कुनै नेपाली हुनेथिएन। क्रान्तिमै योगदान गरेको हाम्रो परिवारका सदस्य अहिले तातो बालुवाको समुन्द्री किनारमा पसिना बगाउँदैछन् तर आस्था झुकाएका छैनन्। तपाइको आव्ह्वान अझै कुर्दैछन्। आँट छ तपाईंहरुसँग, तिनलाई देश निर्माणमा सगौरब निम्तो दिएर नेपाल फर्काउने? 

जिउँदो सहिद बनेका हामी जस्ता लाखौं कार्यकर्ताका लागि क. प्रचन्ड र उहाँका पुस्ताका नेताको आलोचना गर्न पाउनु अधिकार पनि हो। रामकुमारी झाक्रीहरुले बिध्या भण्डारी र केपी ओलीको आलोचना गर्ने अधिकार र हैसियत राखे जस्तै हाम्रो पनि अधिकार छ, तपाईहरुको आलोचना गर्ने। यसका लागि झाक्रीले जस्तै गिरफ्तारी र आरोप खेप्नु नै किन नपरोस्। 

क्रान्तिको नेतृत्व वरिपरि भएका तमाम हनुमानलाई मेरो आग्रह छ- प्रचण्ड पुस्तालाई बिगार्ने भूमिका नालायक तिमीहरुको पनि छ। क. प्रचण्डले जे गरे पनि हो हो र हा हा गरेर आफ्नो स्वार्थको रोटी सेक्नेहरु नै उनलाई बिग्रार्ने र उचाल्ने खेलमा लागे। जसको परिणाम हो अहिलेको अवस्था।

गलत कदमको बेलैमा कडा आलोचना गर्ने आँट हनुमानहरुसँग हुनेकुरै भएन। म नेतृत्वलाई सम्मान गर्छु तर हनुमानगिरि भने गर्न सक्दिन। मेरो आलोचनाले कहिँकत्तै भ्रम उत्पन्न हुन्छ भने त्यो हटोस् भन्ने कामना गर्दछु। जुन दिन प्रचण्ड–बाबुरामका लागि रगत बगाउँनेहरु खुसी हुनेछन् र प्रचन्ड–बाबुराम आफ्ना नातागोता र गुटगत सिन्डिकेटबाट माथि उठेर जनताका बीच आउने छन्, त्यो दिन म उहाँहरुसँग हुनेछु। 

यो मेरो मात्र होइन, मेरो पुस्ताको भावना पनि हो। बिगत झैं कोही ब्यक्ति र उसका नातागोताको ऐस, आराम, शान–शौकतका लागि अब हामी बलिका बोका बन्न सक्दैनौं। 

हाम्रो राजनितिक भविस्य नेताहरुले जनयुद्धको मिसन सिद्द्याएपछि आखिर सकिसकेको छ। अब शुन्यबाट नयाँ राजनितिक जीवनको सुरुवात गर्नुछ। मेरा आदर्श नेताले नै माओबाद त्यागेर कमल थापाहरुसँग चुनावी सौदाबाजी गरेको आँखै अगाडी देखेपछि बिश्वासको धरहरा ढलिसकेको छ। बाँकी नीति,बिचार र सिद्धान्त तिम्रा खल्तीमा राख। पढ्न काम लाग्छ। ब्यवहारमा लाग्दैन।

महान जनयुद्धका शहिदकी छोरी, बहिनी र भान्जी मेरो श्रीमतीलाई सोधे- शान्ति प्रकिया पश्चात कुनै नेताले तिमीलाई सम्झे? उनको मौन जवाफ छ- फागुन १ गतेको दिनले हरेक बर्ष सम्झिन्छ। सम्झिरहने छ तर नेताले होइन।

( जनयुद्दकालमा जनमुक्ति सेनाको केन्द्रिय सप्लाई बिभागमा रहेर जोखिमपूर्ण काम गरेका धिताल डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको नीजि सचिवालयमा कार्यरत थिए। )
 

प्रकाशित मिति: : 2021-02-13 10:35:00

प्रतिकृया दिनुहोस्