दानसाँगुबाट १० मिनेट हिँड्दा वा जुम्लाको खलंगा बजारबाट बाइक चडेको १० मिनेटमा पुगिने गुठीचौर गाउँपालिका बिगारे गाउँको चौर भन्ने ठाउँनेर कालिजको चिरविर आवाज जस्तो ध्वनि गुन्जिन्छ। धेरैलाई लाग्छ, 'हामी जंगलमा आयौँ कि क्या हो ?' अनि कालिजको स्वादिलो मासुको याद आउँछ। मन एकाएक लोभिन थाल्छ।
पारी सियाँला(घाम नलाग्ने ठाउँ) लामाकारको भिर नजिकैको जंगलबाट घाम ताप्नलाई पारिलो ठाउँ बिगारेमा जंगली कालिज पो आइगए कि जस्तो लाग्छ। छोप्न पाए एक छाक वर्षकै उत्कृष्ट भोजन गर्न पाइन्थ्यो जस्तो लाग्ने।
तर न जंगल आएको हुन्छ, न कोही सिकारीले पासो हालेर कालिज पारेको हुन्छ, वा न त पारि सियालाबाट घाम ताप्न कालिजहरु नै आएका हुन्छन्। यो त जुम्लामै पहिलो पटक खोलिएको कालिज फर्म हो। जसलाई संचालन गरेका छन्, गुठीचौर गाउँपालिका - ४ का महाकृष्ण पाण्डेले। उनी सरकारी कार्यालयका लेखापाल हुन् तर समयले उनलाई एक सृजनशील उद्यमी बनाएको छ। उनको सृजनाको बगैँचामा कालिरुपी मीठो धुन बजिरहेको छ।
जसले गर्दा त्यही बाटो भएर ओहोरदोहोर गर्नेहरु टक्क अडिन्छन्। मिठो धुन सुन्छन्। एकैपटक धेरै कालिजको दर्शन गर्छन्। पोसिलो, रसिलो मासु सम्झिन्छन्। जिब्रो त्यसै रसिलो बनाउँछन् र कानलाई पवित्र बनाउँदै आफ्नो बाटो लाग्छन्।
अब मुख रसिलो बनाएर कल्पनामा रमाउने मात्र होइन वास्तविकतामै कालिजको मासु खान सकिन्छ। यसअघि चोरी सिकारी बाहेक कालिजको मासु खान पाउने कुरा आकाशको फलजस्ताे थियो तर अब यसलाई हकिकतमा बदलिदिएका छन् लेखापाल पाण्डेले।
यसअघि व्यवसायिक रुपमा पालन गर्न सकिदैन् भन्ने भ्रम भएपनि उनले महालक्ष्मी कालिज फर्म खोलेर गाउँमै कालिजपालन गरेका छन्। यो जुम्लाको लागि नौलो, पहिलो र सृजनसील कार्य हो।
आज बाटोमा हिँड्नेहरु टक्क अडिएर कालिजको आवाज मात्र सुन्दैनन्, फर्म भित्र पसेर उनले पालेका कालिज हेर्छन्। रमाइलो मान्दै सल्लाह लिन्छन्, कालिज कसरी पाल्ने भनेर।
'व्यवसायिक रुपमा कालिजपालन गरेको जुम्लामा पहिलो पटक भएकोले पनि होला हेर्न आउनेको भिड छ। धेरैले रहर मान्छन्। कुखुरा पालन गरेका किसानले कालिजपालन गर्न रुचाउँछन्,' उनले भने, 'इच्छाशक्ति हुनु पर्ने रहेछ। कालिजपालन गर्न कुनै कठिनाइ छैन। तर कालिजको रेखदेखमा अधिकांश समय बिताउनुपर्छ।'
उनी हरेक दिन दश बजेदेखि पाँच बजेसम्म कार्यालयमा खटिएर काम सकाउँछन्। त्यसपछिको समयमा कालिजतिर ध्यान ढुलाउँथे। तर हाल कालिकोट कार्यक्षेत्र भएकोले हरेक शुक्रबार उनी घरमा जान्छन्। कालिजको रेखदेख गर्छन्।
जुम्लामा हिमपात हुने भएकोले समस्या छ। बिजुलीको अभाव छ। नजिकैको माइक्रोहाइड्रोबाट आउने बिजुलीले धान्दैन। बिजुली पूरै दिनरात पनि आउँदैन। राति जंगली जनावरबाट दुःख पाइन्छ। कालिज जंगली जनावरबाट बचाउन चुनौती हुने हुँदा केही समस्या छन्।
गत असारमा १५० कालिजबाट व्यवसाय थालानी गरेका पाण्डेले २५ वटा कालिज बेचिसकेका छन्। अहिले उनीसँग १ सय २० वटा कालिज छन्। जसमध्ये ४० पोथि कालिज हुन्।
हाल हरेक दिन कालिज पालेको ठाउँमा १० देखि १२ जना अवलोकन गर्न आउँछन्। कालिजपालन अवलोकन स्थल जस्तो बनेको छ। अवलोकन गर्न आउने किसानले कालिजपालन हेर्छन्। किनेर घर लैजान्छन्। कालिजपालन बारे सुझाव दिन्छन्। 'कालिजपालनले पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको छ,' उनले मुस्कुराउँदै भने।
उनले कालिजपालनलाई अझ व्यवसायिक बनाउँदै सबैको आकर्षणको केन्द्र बनाउने साेच बनाएका छन्। सरकारी कर्मचारी कृषि क्षेत्रमा लगाब राख्दैनन् भन्ने भ्रम चिरेर इच्छा शक्ति हुनेले कृषि क्षेत्रको उत्थान गर्छन् भन्ने सन्देश प्रवाह गरिरहेका छन्।
जुम्ला कालिजको लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। यहाँ ठुलो संख्यामा कालिजपालन गरेर आन्तरिक तथा ग्रामिण पर्यटनलाई बढवा दिन सकिन्छ। सँगै जंगली जंगलका कालिजहरु रहिरहन्छन् भने नागरिकले सजिलै कालिजको मासु समेत खान पाउँछन्।
'स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको हो। अब कर्णालीमा व्यावसायिक रुपमा कालिज पालन गर्न सकिन्छ,' उनले भने, 'विस्तारै कर्णाली कालिजपालनको लागि एक नमुना क्षेत्रका रुपमा स्थापित हुनेमा विश्वस्त छु। विशेष गरि शासक, प्रशासक र ठुला बडाको भान्सामा लुकिछिपि पुग्ने जंगली कालिज आम नागरिकको पहुँचमा पुग्नेछ र कुखुरा भन्दा सस्तोमा पाइनेछ।'
हिमाली हावापानीमा पालिएको कालिज पोषणको हिसाबले पनि निकै उत्तम हुने पशुपंक्षी विज्ञ बताउँछन्। यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकहरुले समेत भन्न थालेका छन्।
भेटेरेनरी तथा पशुपालन विकास कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार यहाँ पालिएको मासुको गुणस्तर तथा स्वाद उत्कृष्ट हुन्छ। उनले भने, 'जंगलमा पाइने कालिजकै जतिको मासु यहीँ उत्पादन भएर हुर्केको कालिजको पनि हुन्छ।'
जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको यो फर्म भविष्यमा रिसर्च सेन्टरका रुपमा समेत विकसित गर्ने तयारी रहेको पाण्डेले बताए। एक हजार बढी चल्ला उत्पादन गर्ने, तीन वर्षमा जुम्लालाई आवश्यक पर्ने कालिज उत्पादन गरेर बजारमा लैजान सक्ने गरि तयारी थालिएको छ।
पहिलो चरणमा १५ लाख रुपैयाँ लगानी गरी कालिजपालन गरिएको हो। लगानीका लागि सर, सापट गरिएको छ। हाल फर्म उनको परिवारले समय दिएको छ। सँगै अरु २ जनाले रोजगारी पाएका छन्। उनी आफूले सुरु गरेको व्यवसाय राम्रो हुनेमा ढुक्क उनी तीन वर्षमा १० जनालाई राेजगारी दिने लक्ष्य सहित अगाडि बढेका छन्।
हाल उनको फर्ममा पालिएका कालिजको लागि बजार खोज्न परेको छैन। धेरैजसो ग्राहक फर्ममै पुगेर खरिद गरिरहेका छन्। प्रति कालिज तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ। यो मूल्य करिब स्थानीय कुखुराको मूल्य बराबर भएकाले पनि बजारको लागि समस्या नभएको उनले बताए।
कालिज नेपालमा पाइने एक जंगली चरा हो। यो चरा कुखुराजस्तै हुने भएकाले कतै कतै यसलाई 'वन कुखुरा' वा 'वन मुर्गी' पनि भनिन्छ। कालिजहरु प्रायः पहाडी क्षेत्रको जंगलमा पाइन्छन्। सिकारीहरुले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको लोप हुने सम्भावना बढेको वन कार्यालयले बताएको छ।
कालिजका पनि कुखुराजस्तै ठूलो समूहमा चल्लाहरु हुन्छन्। बैशाख र जेठमा धेरैजसो कालिजहरुले चल्ला निकाल्छन्। मंसिर, पुससम्म चल्लाहरु एक समूहमा बस्ने गर्छन् भने फागुन लागेपछि कालिजहरु भाले पोथीको अलग–अलग जोडी बनाएर छुट्टिन्छन्।
पछिल्लो समयमा कालिजपालन एक आकर्षक पेसा हुने देखेपछि जुम्लामा कालिज पालन गर्ने अन्त्य फर्म पनि खुलेका छन् तर जुम्लाको हिमपातले आकासे जाली भत्काउने र विद्युत आपूर्ति नहुँदा चल्ला उत्पादन र जंगली जनावरबाट सुरक्षा दिन गाह्रो छ।
सरकारी जागिरसँगै कृषि कर्ममा लागेका पाण्डेको पारिवारिक पृष्ठभूमि भने खेतीकिसानी गर्न आफै लाग्ने भन्दापनि अरुलाई गराउने खालको थियो। गोठीचौरको चौरबिगारे गाउँको मध्यम परिवारमा जन्मेका उनका बुवा तत्कालीन गाउँको तालुकदार(मुखिया) थिए।
२०५१ मा बुवाको मृत्यु हुँदा दिन सोचेजस्ता सुखमय हुन सकेकनन्। दु:का दिन त्यहीँबाट सुरु भए। दु:ख गरेर आइ कम सम्म पढे भने हाल एम एड सम्मको पढाइ सकाएका छन्।
उनले वन सहायकमा १० वर्ष काम गरेपछि २०६४/६५ मा लेखा समुहमा प्रवेश गरेका थिए। वनमै जागिर भएर पनि होला उनले व्यावसायिक रुपमा कालिज पाल्ने सोच बनाए। पछि वन सहायक पदबाट राजिनामा दिएर उपदान, बिरामी बिदा, बिमा र सञ्चयकोषको रकम लिएर थप अध्ययनमा लागेर आर्थिक प्रशासन तर्फ पुन: नाम निकाले र फेरि पनि सरकारी सेवामा लागे।
त्यही दाैरानमा सरकारी कामको शिलशिलामा ३ वटा कार्यालय सम्मको आर्थिक प्रशासनको जिम्मा लिए। त्यसबेला रातको १ बजे सम्म काम गर्थे। तर जति काम गर्दा पनि जस नपाएको उनले बताए। 'त्यसैबेला नै हो आफ्नै कृषि फर्म वा अन्य व्यवसाय गरेर यसरी राति १ बजेसम्म खटेरको भए कम्तिमा आत्मसन्तुष्टि हुन्थ्यो होला,' उनले भने, 'त्यसबेला पाइएको अपजसले पनि आज व्यवसायिक रुपमा अगाडि बढ्न सहयोग गर्यो।'
कालिकोट जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा कार्यरत उनी पछिल्लो समय लेखापाल भन्दा पनि कालिजपालकका रुपमा परिचित छन्। हरेक क्षेत्रलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने तर्क राख्ने उनी आफैँ उत्पादनमूलक गतिविधिमा सक्रिय रहेछ व्यावहारिक बनिरहेका छन्।