प्रचण्डले विगतको गल्ती स्वीकारे अझै मिल्ने ठाउँ बाँकी छ- मुख्यमन्त्री पाेखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका स्थायी समिति सदस्य शंकर पाेखरेलले नेकपाकाे विभाजन पद प्राप्तिको लागि भएको बताएका छन्। प्रतिनिधिसभा विघटन पछि आएका क्रिया र प्रतिकृयाले पदिय आकांक्षालाई नै पुष्टि गरेकाे उनले बताए।

नेकपा प्रचण्ड समूहले गरेका पछिल्ला निर्णयहरू पद प्राप्तिमा केन्द्रीत देखिएकाे नेता पाेखरेलकाे भनाइ छ। मंगलबार सामाजिक संजाल फेसबुकमा उनले प्रतिनिधिसभाको विघटन नेकपा विवादको कारण नभएर परिणाम भएको बताए।

प्रधानमन्त्री ओलीकाे सिफारिसमा भएको प्रतिनिधिसभा विघटनलाई प्रचण्ड समूहले मुख्य कारण जस्तो भान पार्ने, याे तर्क यथार्थ भन्दा बाहिर रहेको पाेखरेलले दाबी गरे। पार्टी संसद विघटन पूर्व नै मनोवैज्ञानिक रुपमा विभाजित भइसकेको उनले स्पष्ट पारे। नेता पाेखरेल लेख्छन्, 'प्रतिनिधिसभाको विघटन पछि त आपसी सम्वन्ध नै शत्रुतापूर्ण तहमा पुगेको छ।'

आम रुपमा नेकपा नेताहरू बीचकाे विवाद स्वार्थ केन्द्रीत भयो भन्ने प्रश्न उठेपछि मात्रै प्रचण्डकाे नाममा प्रधानमन्त्रीमाथि अभियोग पत्र तयार भएको ओलीनिकट नेता पाेखरेलले बताए। विवादको समाधान हुँदा आफ्ना स्वार्थहरू पुरा नहुने देखेपछि प्रचण्ड-माधव नेपाल पार्टी भित्र देखिएको मतभेद समाधानको प्रयासमा नलागेको उनले आराेप लगाए। 

प्रचण्ड समूहले विगतमा भएको गल्ती स्विकार गरे मिलेर जाने ठाउँ रहेको मुख्यमन्त्री पाेखरेलले जनाए। 'चुनाव त अझ यस्तो हतियार हो, जसले विवादलाई पनि मत्थर पार्न सहयोग पुर्‍याउन सक्छ' उनी लेख्छन्, 'शत्रुतापूर्ण विवादबाट बाहिर निक्लेर यसरी पनि सोच्न सकिन्छ कि!'

प्रकाशित मिति: : 2021-02-10 07:03:00

प्रतिकृया दिनुहोस्