‘कटवाल–काण्ड’ पछि तनावग्रस्त नेपालगन्जको रुपेडिया नाका एकाएक शान्त भयो।
‘कटवाल–काण्ड’ मा नेपाली सेनाको समर्थन गरेको भन्दै तत्कालीन नेकपा माओवादीले भारतविरुद्ध कडा प्रतिक्रिया जनायो। आन्दोलनको क्रममा प्रयोग गरिएका व्यानरमा आर्मीको बुटमा ‘अशोक चक्र’ चिन्हको छाप बनाएपछि भारत सरकार रुष्ट बन्यो।
२०६६ साल माघ १६ गते सहिदको सम्झनामा नेपालमा सहिद दिवसको कार्यक्रम चलिरहेको थियो, भारतमा भने महात्मा गान्धीको पुण्यतिथिको कार्यक्रम। यसैबीच रुपेडिया नाका एकाएक तनावग्रस्त बन्यो।
सोही समय एक नेपाली युवा हातमा विभिन्न रंग मिसिएको गुलाबको फूल लिएर त्यही पुगे। उनले नेपाल–भारत दुबै पक्षका आन्दोलनकारीलाई हातमा गुलाफ दिएपछि रुपेडिया नाकामा श्रृजना भएको तनावको अवस्था एकाएक शान्त भयो। उनले गुुलाफ दिएपछि आक्रोसित मानिसमा मुस्कान देखियो।
यसरी सीमा क्षेत्रमा गुलाफ दिने युवा हुन्, डा.सुशिल कोइराला। उनी ‘दामिन फाउन्डेसनमा’ क्षयरोग र कुष्ठरोग भएका बिरामीको उपचार गर्छन। यी रोगबारे समाजमा रहेको भ्रामात्मक कुरालाई चिर्न सबलीकरण कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्। सीमा क्षेत्रमा असहज परिस्थिति भएको बेला गुलाफ बाँडेर माहोललाई शान्त र सद्भावपूर्ण बनाएको त्यो घटना सम्झदा अहिले पनि उनलाई आनन्द लाग्छ। ‘त्यो दिन साथीभाईले झड्प हुनसक्छ भनेर मलाई नाकामा गुलाब नबाँड्न सुझाव दिएका थिए। म रोकिन्।
काठमाडौंबाट गुलाब र नेपाली झण्डा मगाएर बाँडेको थिए,’ उनले भने। त्यो दिन उनले सोचेभन्दा राम्रो भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको ध्यान पनि उनको यो कार्यले तान्यो। नेपाल भर्खरै द्धन्द्धबाट मुक्त भएर संविधान बनाउने प्रक्रियामा हुँदा सुशिलले ‘बन्दुक होइन, गुलाब’ नारासहित अभियान सुरु गरेका थिए। ‘अब द्धन्द्ध सकियो। आगामी दिन सबै कुरा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नुपर्छ भन्ने सन्देश फैलाउन मैले ‘गुलाब अभियान’ सुरु गरेको हुँ,’ उनले भने।
गुलाब सबैलाई मनपर्ने फुल हो। संसारमा जहाँ पनि पाइने, वर्षैभरी फूल्ने, अनेकौ रंगमा पाइने हुँदा संसारभरको परिवेश सुहाउँदो छ। संसारभर शान्तिको सन्देश पुर्याउने संकल्प लिएर सुशिलले यो अभियान सुरु गरेका हुन्। ‘गुलाफ हातमा दिएपछि जो कोहीको अनुहारमा सकारात्मक अनुभूतिका साथ खुसी झल्किने हुँदा मैले गुलाब रोजेको हुँ,’ सुशिलले भने।
उनले पहिलो पटक २०६५ मा काठमाडौंबाट गुलाब अभियानको यात्रा सुरु गरेका हुन्। त्यतिबेला उनले राज्य र माओवादीको तर्फबाट पिडामा परेका मनिसलाई जम्मा गरेर गुलाब र्याली गरे।
त्यो उनले जनयुद्ध अन्त्यपछि शान्तिपूर्ण रूपमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न गरेका थिए। जसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन्।
महिला हिंसा तथा दण्डहिनताविरूद्ध महिनौसम्म चलेको बालुवाटार– सत्याग्रह (बालुवाटार अकुपाई) आन्दोलनमा पनि उनले धर्नामा बसेका नारीवादी र प्रहरीलाइ गुलाब बाँडेका थिए। ‘यतिबेला सरकारले हिंसामा परेको महिलाई न्याय दियोस् र मेलमिलाप होस् भन्ने कामना गर्दै गुलाब बाँडेको हुँ,’ सुशिल बताउँछन्।
उनले देशभित्र मात्र होइन, अमेरिका र युरोपका विभिन्न देशमा नेपालको झण्डा र गुलाबको फूल बाँड्दै आएका छन्। सुरुका दिन उनी मानिसलाई भेला पारेर गुलाब र्याली गर्थे। पछिल्लो समय उनी अभियानलाई फरक–फरक शैलीमा गर्दै आइरहेका छन्। जहाँ कार्यक्रम, गोष्ठी, सेमिनार र तालिम हुन्छ उनी त्यही पुगेर गुलाब बाँड्छन्।
उनी स्कुलमा पुगेर विद्यार्थीलाई गुलाब बाँडेर पनि खुुसी साट्छन्। बालआश्रम, बृद्धआश्रम तथा सुधार गृहमा गएर पनि गुलाब बाँडिरहेका छन्।
पछिल्लो समय विशेषतः कुष्ठरोग, क्षयरोग, एचआइभी र मानसिक रोगीलाई पनि सान्त्वना दिन गुलाब बाँड्छन्। समाजले यस्ता रोग लागेका मानिसलाई नराम्रो नजरले नहेरुन् र रोगीको आत्माबलमा पनि कमी नआओस् भनेर गुलाब बाँड्ने गरेका हुन्।
उनको अभियान गज्जबको छ। गुलाफ बाँड्न पाएर दंग परेका उनी भन्छन्, गुलाब पाएर अरु खुसी हुन्छन्।’ उनको इच्छा पनि त्यही हो। सबैको अनुहारमा मुस्कान देख्न पाउनु।
लामो समय अस्पतालमा उपचारपछि निको भएर घर फर्किन लागेका बिरामीलाई पनि उनी सुझावसहित गुलाब दिन्छन्। जसको प्रेरणाले धेरै व्यक्ति सतमार्गमा हिँडेको उदाहरण पनि छ। ‘केही त्यस्ता व्यक्तिहरू पनि हुनुहुन्छ, जसले मैले वर्षौ पहिला दिएको गुलाब संगालेर राख्नुभएको रहेछ। पछि सम्पर्क गर्नुहुन्छ,’ सुशिल भन्छन्। उनले आजसम्म ३० हजार बढीलाई गुलाब बाँडिसकेका छन्। उनले गुलाबसँगै प्रेरणा पनि दिन्छन्। जसको कारण धेरै बिरामीले समाजमा विनासंकोच काम गर्नेगरेको पाइएको छ।
गत साता कोरोनाको खोप लगाएका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीलाई पनि उनले गुलाब बाँडेका थिए। कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउनु ऐतिहासिक दिन भएकोले त्यो खुसी साट्न गुलाब बाँडेको उनले बिएल नेपाली सेवालाई बताए। ‘गुलाब पाएपछि सबैको अनुहारमा खुसी झल्किएको देख्दा मलाई पनि ऊर्जा मिलेको थियो,’ उनले बताए।
यसरी गुलाब बाँड्दै हिँडेको नै १२ वर्ष पुगिसक्यो। अचेल धेरैले उनलाई ‘गुलाब डाक्टर’को उपनामले चिन्ने गर्छन्। उनको गुलाबसँग दोस्ती बसिसकेको छ। त्यसैले कसैले गुलाब कुल्चियो भने उनलाई सारै दुःख लाग्छ।
(पहिलाे पटक वि.सं.२०७७ माघ २५ गते प्रकाशित सामाग्री)